सन्ध्या डि र यूवराज चौलागाईंको ‘मेरी माया’


काठमाडौं। गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन्’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् ।

उक्त गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् । मेलोडियस शैलीको उक्त गीतले एउटा विशेष सन्देश बोकेको छ ।

गायिका, गीतकार तथा संगीतकार सन्ध्या भन्छिन्–‘मेरी माया आउँदै छिन् गीतमा मैले विदेशिएका चेलीहरुलाई केन्द्रमा राखेर तयार पारेकी छु ।’ संगीतकर्मी सन्ध्याका अनुसार थुप्रै नेपाली चेलीहरु पनि अध्ययन तथा रोजगारीका क्रममा विदेशिएका छन् । उनीहरुले आफ्ना घर–परिवार हेरेका छन् ।

मैले यो गीतमार्फत त्यही वास्तविकलाई उजागर गर्न खोजेकी छु, उनी भन्छिन्–‘अहिलेसम्म यो गीतमा विषयमा आधारित भएर नेपाली गीत बनेको छ जस्तो नलागेर मैले यो हिम्मत गरेकी हुँ ।’

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा पुरुषोत्तम सिग्देललाई सुजन श्रेष्ठ, सब्बु तथा सृजना फिचर्ड छन्। रामेश्वर जिरेलद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन् भने कमल योञ्जनले यसलाई निर्देशन गरेका हुन् ।