दुई-चार लाख, दश-बीस लाख आयो भन्दैमा म फिल्म बनाउँदिनँ


नेपाली साहित्य र विशेषतः फिल्मको कुरा गर्दा वरिष्ठ फिल्म निर्देशक, गीतकार र साहित्यकार यादव खरेलको नाम कहिल्यै छुट्दैन । उनको पहिचान फिल्म निर्माता र लेखकका रूपमा समेत छ। बेलायतको लण्डन फिल्म स्कुलबाट डिप्लोमा गरेका उनी केही समयअघि सरकारले गठन गरेको राष्ट्रिय चलचित्र नीति निर्माण समितिको संयोजक छन्। यो समितिले नेपाली फिल्ममा के–के कुरा गर्न सकेमा यसको विकास हुन्छ भन्ने विषयमा फिल्मसँग सम्बन्धित विभिन्न संघसंस्थासँग रायसुझाव मागी मस्यौदा बनाउने काम गरिरहेको छ । प्रस्तुत छ, उनै खरेलसँग नेपाली फिल्मको अवस्था र समितिले गरिरहेका कामबारे निमेष गौतम ले गर्नु भएको कुराकानीको सारसंक्षेप :
Yadhav-Kharel
आजकल केमा व्यस्त हुनुहुन्छ ?
राष्ट्रिय चलचित्र नीतिको मस्यौदा तयार गर्ने अन्तिम तयारीमा जुटिरहेको छु। मस्यौदाको कामले फिल्मका अरू काम भ्याएको छैन। यसबाहेक एक÷दुईवटा किताब लेख्ने काम सुरु गरेको थिएँ, त्यो पनि मस्यौदाको व्यस्तताले रोकिएको छ। अब मस्यौदाको काम पूरा गरेर सरकारलाई बुझाएपछि मात्र अन्य काम गर्ने योजना बनाएको छु।
फिल्म निर्देशन गर्न छाड्नुभयो नि ?
अहिले समय नमिलेर हो। फेरि फिल्म बनाउने भनेको चानचुने कुरा होइन। अहिलेको जस्तो दुई-चार लाख, दश-बीस लाख आयो भन्दैमा म फिल्म बनाउँदिनँ। म फिल्म बनाउँदा पहिला विषय छनोट गर्छु। म पृथक किसिमको सामाजिक दायिŒव बोध गराउने र देश तथा समाज उपयोगी किसिमको फिल्म बनाउन रुचाउँछु। अहिलेको अवस्थामा मैले फिल्म बनाउँदा मेरो विषय लगानीकर्तालाई मन नपर्ला, लगानीकर्ताको विषय मलाई मन नपर्ला। त्यसकारण अहिले छोरा (सम्राट) सँग मिलेर पृथक विषयमा फिल्म बनाउने तयारी गरिरहेको छु । फिल्मको निर्देशन सम्राटले गर्नेछन् भने स्क्रिप्ट चाहिँ मेरो हुनेछ ।
पुराना फिल्म निर्देशकहरू फिल्ममा कम सक्रिय हुन थालेका छन्, किन होला ?
यो सबै समयको कुरा हो। नयाँ पुस्ता नयाँ रूपमा आउँछन् । रूखमा पनि पुराना पात झर्दै गएपछि नयाँ पातको पालुवा पलाउँदै जान्छ। यो क्षेत्र पनि यस्तै हो। नयाँ जोस र जाँगरले भरिएका र विशेषतः फिल्मसम्बन्धी नै अध्ययन गरेका युवाको आगमन बढ्दै गएकाले पनि हामी पुराना पुस्तालाई कम रूपमा फिल्म निर्देशनमा दर्शकले देखेका हुन्।
भनेपछि पुरानो पुस्ता विस्थापित बन्दै गएको हो ?
हो, किनकि फिल्मदेखि हरेक क्षेत्रमा नयाँ पुस्ताको वर्चश्व बढ्दै गएको छ । त्यसकारणले पनि हामी पुराना विस्थापित हुँदै गएका हौं। संसारमा जहाँ हेरे पनि नयाँ पुस्ताले पुरानालाई विस्थापित गर्दै गरेका उदाहरण देख्न सकिन्छ । यसमा पनि त्यसकै एउटा निरन्तरता हो।
नयाँ पुस्ताले बनाएका फिल्मलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
अहिले डिटिजल प्रविधिले गर्दा नयाँ पुस्तालाई काम गर्न निकै सजिलो भएको छ । यसमा लागत पनि कम भयो र सबैको पहुँचभित्र पनि पर्न सक्यो। नेपालमा थोरै लगानीमा पनि फिल्म बनाउन सकिने चलन बढिरहेको छ । प्राविधिक हिसाबले पनि फिल्ममा लचकता देखिन्छ । प्राविधिक पक्षमा सन्तुलन मिलाउनुपर्ने भएकाले पनि अहिले यस्ता फरम्याटका फिल्म बनाउने बाढी नै आएको छ । कम लागतमा फिल्म बनाउने लहडमा नराम्रा पनि फिल्म बन्न थालेका छन् । तर, नराम्रासँगै राम्रा कुरा पनि आएका छन् । नयाँ पुस्ताले फिल्मका विषयमा औपचारिक शिक्षा पाएका छन् । उनीहरूले फिल्ममा एक्सोजर देखेका छन्। फिल्म बनाउने सोचाइ र फिल्म हेर्ने दृष्किोण तथा शैलीमा पनि व्यापक परिर्वतन आएको छ।
तर, उनीहरूले गर्दा विकृति पनि आइरहेको छ नि ?
विकृति भनेको अहिलेका फिल्ममा बढी हत्या, हिंसा र यौनका दृश्य राखिनु हो । यो छोटो समयका लागि हुन्छ। फिल्म बनाउनेहरूले तुरुन्तै पैसा कमाउनका लागि यस्ता काम गरेका हुन्छन् । यस्ता फिल्म आए पनि राम्रा फिल्म बन्ने क्रम पनि त बढिरहेका छन्।
फिल्म मनोरञ्जनको साधन हो, तर त्यही फिल्मले दर्शक पनि भड्किइरहेका छन् नि ?
फिल्म बनाउनले फिल्मलाई कसरी बुझेका छन् त्यो मुख्य कुरा हो । अब बन्न लागेको चलचित्रसम्बन्धी नीतिले यो कुरालाई सम्बोधन गर्छ । कला र मौलिकतालाई पस्कने फिल्मलाई नीतिले बढी प्राथमिकता दिन्छ । विषय छनोटका क्रममा राम्रा–राम्रा छोटा फिल्म पनि बनिरहेका छन्। मौलिकताका लागि विविध भाषामा फिल्म बन्न थालेका छन् । विषयमा पृथकताले नै दर्शकलाई हलमा तान्ने हो । त्यसकारण नीति लागू भएपछि यस्ता किसिमका फिल्ममा कमी आउनेमा विश्वस्त छु ।
पछिल्लो समयमा राम्रा–राम्रा फिल्म बन्न थालेका छन्, यसबाट खुशी हुनुहुन्छ ?
यो एकदमै राम्रो कुरा हो । किनकि नयाँ पुस्ताले केही राम्रा काम गरिरहेका छन्। नौवटा नराम्रा फिल्म आइरहँदा एउटा राम्रो फिल्म आउनु सकारात्मक कुरा हो । मलाई आशा छ, अझै पनि नयाँ अनुहारले राम्रा–राम्रा फिल्म दर्शकलाई दिन सक्नेछन्।
नेपाली फिल्ममा मौलिकताको विषय हराउँदै गएको हो ?
अहिलेको फिल्म हेर्दा कतिपय कुरामा मौलिकताको विषय हराएको देखिन्छ । तर, केही चार÷पाँचवटा फिल्ममा भने मौलिकताले राम्रै स्थान पाएको छ । मुख्यतया सस्तो लोकप्रियताका लागि बनेका फिल्ममा मात्र मौलिकताको विषय हराउँदै गएको हो । बाँकी फिल्ममा मौलिकताले आफूलाई अटाएको छ ।
राष्ट्रिय चलचित्र नीति बनाउने जिम्मेवारी पाउनुभएको छ । यो काम कहाँसम्म पुगेको छ ?
अहिले हामी मस्यौदाको निर्णायक चरणमा छौं । दुई हप्ताभित्रमा मस्यौदा सरकारलाई बुझाएर बाहिर ल्याउनेछौं ।
यो नीति लागू भएपछि नेपाली फिल्ममा के–कस्तो परिवर्तन पाइनेछ ?
त्यो परिवर्तन के–के हुन सक्छन् भन्ने कुरा चाहिँ अहिले नभनौं, मस्यौदा बाहिर आएपछि सबैले थाहा पाउनुहुनेछ । हामीले सरकारलाई बुझाएपछि मात्र ती कुरा आउनेछन् । समग्रमा भन्नुपर्दा फिल्म भनेको मनोरञ्जनका लागिमात्र होइन, यसको सम्बन्ध पहिचानका लागि पनि गाँसिएको हुन्छ । दस्तावेजमा फिल्म उद्योगलाई औद्योगिक मान्यता दिनुपर्ने कुरालाई पनि समेटिएको छ । फिल्मका लागि सरकारले धेरै बन्देज लगाएको छ । मस्यौदामा फिल्मका बन्देज फुकाएर राम्रो वातावरण बनाउन प्रस्ताव गरिएको छ ।