नेपालगञ्ज। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि चलचित्रको व्यवसायले सन्तोष जनक अवस्था पार गर्दैछ ।
यसैबीच, मंगलवार यो चलचित्रले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् ।
सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् ।
काठमाडौंबाट गएका चलचित्रका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी तथा निर्देशक मिलन तामाङलाई स्थानिय दर्शकहरुले भव्य स्वागत गरेका छन् । दर्शकले काठमाडौंबाट गएका कलाकारहरुलाई खुला हृदयले स्वागत गर्दै चलचित्रको मज्जा लिइरहेका छ्न् ।
नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि यो चलचित्रले दर्शकको उत्कृष्ट साथ पाइरहेका निर्माता अधिकारीको भनाइ छ ।
यसैबीच, आज यो चलचित्रले देशभरि नै उत्कृष्ट व्यापार गरिरहेको निर्माता अधिकारीले जानकारी दिएका छन् । बलियो वर्ड अफ माउथका कारण चलचित्रको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गर्न सकेको छैन ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।