‘खजुरे ब्रो’ निर्देशक भन्छन्- फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन भएन


दोश्रो सिनेमामा निर्देशनमा झण्डै दशकको समय लगाएका निर्देशक सुरज सुनुवारले राम्रो कथा नभेटेरै यति समय लागेको बताएका छन्।

‘तपाईंसँग रोचक कथा हुनुपर्‍यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन। यस्तोमा फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन पनि भएन’, उनी भन्छन्।

यसबीच उनी कथाकै खोजीमा रहे। खोजीकाबीच कमेडी सिनेमा बनाउने छलफल हुँदा उनले एउटा वास्तविक चरित्रमाथि सिनेमा बनाउने निधो गरे। उनले रोजेको पात्र थियो- धरानको ‘खजुरे’। राम्रै पारिवारिक स्थितिका बाबजुत रक्सीको नशा र प्रेमको असफलताले सडकमा जीवन सकेको यो पात्रमा सुनुवारले सिनेमा भेटे र सोही पात्रलाई आधार मानेर यो सिनेमा बनाउने जमर्को गरे।

यध्यपी यो सिनेमा खजुरेको वायोपिक भने होइन। सिनेमा २८ गते रिलिज हुँदैछ। सिनेमामा डेब्यू अभिनेत्री नीति शाहको साथमा रेअर राई, महेश त्रिपाठी तथा नविन मानन्धरको प्रमुख भूमिका छ। सिनेमाले दर्शकलाई मनोरञ्जन दिनेमा सुनवार आशावादी छन्।

सिनेमाको संवादका क्रममा उनी यस्तो सुनिएः

एउटा सामान्य मान्छेमाथि सिनेमा किन?
– एउटा कमेडी फिल्म बनाउने साथीभाइको निर्णय भयो। कमेडीको एउटा बलियो पक्ष भनेको त्यसको पात्र हो र त्यो पात्र रोचक हुनुपर्छ किनकी त्यस्तो पात्रले नै कमेडीलाई सफल बनाउँछ। त्यही कारणले मैले खजुरे दाइको बारेमा धरानको साथीहरुसँग तथा धरान जाँदा पनि धेरै कुराहरु सुन्थे। उहाँसँगै उहाँको सुनिल हाइजिन भन्ने दौंत्तरी हुनुहुन्थ्यो जो राम्रो गिटार बजाउनुका साथै प्यारोडी गीतहरु बनाउने गर्नुहुन्थ्यो। उहाँहरुको जुन जीवनशैली र जोक्सहरु थियो, ती धरान र आसपासमा चर्चित छन्। ती सुन्दा मलाई पात्र रोचक लाग्यो। कमेडी जनरामा काल्पनिक पात्र लेख्नुभन्दा सुनेको, देखेको पात्रलाई नै फिक्सनमा ढाल्न अझ सजिलो भयो । किन ‘खजुरे’ जस्तो रोचक पात्रमाथि सिनेमा नगर्ने त भन्ने भएपछि यसलाई छनौट गरेको हुँ।

पात्र मात्र उठाउनुभएको हो की, उसको जीवनको भोगाइ पनि उठाउनु भएको छ?
-उसको जीवनी देखाउन खोजेको छैन। किनभने वायोपिक बनाउन पनि त्यो मान्छेको उतारचढावहरु रोचक हुनुपर्छ, जुन हेर्दा मानिसहरुलाई राम्रो लाग्ने हुनुपर्छ। खजुरे रोचक पात्र त हो तर उसको जीवनमा सिनेमामा चाहिनेजस्तो रोचक कुराहरु छैन, त्यही भएर उहाँको रोचक पाटोहरु सिनेमामा राखेको छु। अहिलेलाई खजुरे काल्पनिक पात्र हो जो उसको जीवनीबाट केहि मात्रामा प्रेरित भने छ भनेर बुझ्दा ठिक होला।

खजुरेका केके रोचक कुरा छन् त?
-प्राय खजुरेका रोचक कुराहरु भने राखेको छु।

खजुरेसँग तपाईंको कहिले प्रत्यक्ष भेट भएको छ कि छैन?
-छैन कहिले पनि भएन। उसको साथी सुनिल हाइजिनसँग भएको छ। सिनेमा गर्नुअघि उसको बारेमा अनुसन्धान गर्न धरान गएको बेलामा एक-दुई महिना त्यहाँ बस्दा सुनिल हाइजिनसँग भेटेर कुराकानी गरेको थिएं। पछि काठमाडौं फर्किएर आएको एकहप्ता जस्तोमा उहाँ पनि बितेको जस्तो खबर सुने। सुनेर नरमाइलो लाग्यो। खजुरेसँग भेट भएन उहाँको खास नाम अनिल हो।

धैर वर्ष लाग्यो ‘षडङ्ग’पछि दोश्रो सिनेमा निर्देशन गर्न, किन?
-यस्तो भइदियो, षडङ्गले सोचे अनुसारको प्रतिक्रिया पाएन। त्यसपछि मैले दर्शकहरुले मेरो कथा वाचनमा उहाँले खोजेजस्तो शैली दिन सकिन कि भन्ने भयो। फेरि तपाईंसँग रोचक कथा हुनुपर्‍यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन। यस्तोमा फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन पनि भएन। राम्रो कथा भेटियो अब यो फिल्म बनाउन लायक छ भनेपछि न बल्ल फिल्म बनाउने हो नि त? त्यही भएर पनि बीचमा केही अड्किए भनूँ न।

‘खजुरे ब्रो’ कस्तो बनाए जस्तो लागेको छ?
-यो एकदम कमेडी फिल्म हो। कमेडी भनेर कमेडीमात्र पनि छैन, अरु रसहरु पनि छ। समग्रमा भन्नुपर्दा यो फिल्म मनोरञ्जन हेतु बनाएको हुँ। गम्भिर कथावाचन छैन, रमाइलो लाग्ने सिनेमा बनेको छ।

धेरैले अनलक्की भनिएकी अभिनेत्री नीति शाहलाई सिनेमामा लिएर तपाईंले चाँहि सिनेमा बनाएरै छोड्नुभयो? तपाईंलाई मेरो फिल्म कतै अड्केला कि जस्तो त भएन नी?
– हेर्नुस्, त्यो मान्छेहरुको सोच हो, आआफ्नै विश्वासहरु हुन्छन्, सबैको सोच एकैखाले हुँदैन पनि। मचाँहि यस्तो सोच राख्ने व्यक्तिमा पर्दिन। बरु नीतिमा आउने बेलामा बरु मलाई नीतिले मेरो चरित्र केन्द्रित भूमिकाचाँहि मननपराउला कि भन्ने थियो किनकी नीतिजस्तो एउटा सौन्दर्य प्रतियोगिताबाट आएको मान्छेले रोमान्टिक सिनेमा खोज्ला भन्ने डर म भित्र थियो। उनको कारण भन्दा पनि अन्य थुप्रै संयोगहरुका कारण सिनेमा नबन्ने स्थिति बन्छ। नीति तिनै संयोगहरुका कारण पीडित भएको हुनसक्छ। हामीले उनकै कारणले सिनेमा रोकिन्छ भनेर कहिल्यै सोचेनौं।

रियर राईका लागि यो सिनेमाले के परिणामहरु लेराउँला?
– ‘खजुरे ब्रो’ व्यवसायिकरुपले सफल होस-नहोस् त्यो आफ्नो ठाँऊमा छ। तर रियर राईले जुन ‘खजुरे ब्रो’को चरित्र निर्माण गरेको छ त्यसले ऊ नितान्त राम्रो अभिनेता भनेर नेपाली सिनेमामा स्थापित हुने सम्भावनाहरु छ।

आफ्नो स्वमूल्यांकनमा तपाईंको सिनेमालाई १० मा कति दिनुहुन्छ?
-मैले मेरो सिनेमालाई त १० मा १० नै दिउँला नि तर तपाईंले जुन हेतुले प्रश्न सोध्नुभएको छ, त्यो दृष्टिकोणबाट हेर्दा मैले सिनेमामा देखाउन खोजेको ८० प्रतिशत सिनेमामा परिणत भएको छ। मेरो सिनेमाका पात्र र प्रस्तुति अहिले आइरहेका सिनेमामा भन्दा भिन्न पाउने ग्यारेन्टीचाँहि गर्नसक्छु।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.