काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।
चलचित्रको निर्माण टिमले शिर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा आधारित भिडियो प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा सहभागी सयौँ भिडियोलाई उछिन्दै दुई समूहले संयुक्त रूपमा विजेताको उपाधि हात पारेका छन्। निर्णायक कोरियोग्राफर कविराज गहतराजले छनोट गरेका दुवै विजेता बुटवलका हुन्।
विजेतामा बुटवलका सुरज सिंजाली मगर र कालिकानगरस्थित नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह परेका छन्। दुबै पक्षले समान अंक प्राप्त गरेपछि निर्माणपक्षले संयुक्त रूपमा विजेता घोषणा गरेको हो।
विजेताहरूलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो। निर्माता अधिकारीका अनुसार दुवै समूहलाई जनही २ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। उनले भने, “सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूबीच निकै कडा प्रतिस्पर्धा भयो। त्यसैले निर्णायकले दुवैलाई विजेता घोषित गर्नुभयो।”
मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’मा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारहरूको अभिनय छ।