शेरचनको जन्मजयन्तीमा पोखरामा ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगीता’ हुँदै, प्रथमले नगद ६ लाख पाउने



काठमाडौं । यही साउन १२ गतेदेखि तीन दिन सुन्दरनगरी पोखरास्थित पोखरा सभागृह परिषर दोहोरीमय हुँदैछ । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’ले ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगीता’ आयोजना गरेको छ ।

शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा तीन दिने दोहोरीगीत प्रतियोगीता हुन लागेको हो । आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौंस्थित ‘ईन्द्रणी’ कार्यक्रमको स्टुडियोमा बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगीता गर्न लागिएको जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर गुरुङ ‘ह्योल्मो’ले स्वर्गीय शेरचनको पोखरामा प्रतिमा स्थापना गर्ने मूल उद्धेश्यले प्रतियोगीता गर्न लागिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिए । ‘प्रतियोगीता सम्पन्न गर्नासाथ प्रतिमा निर्माणको कार्य थालनी गर्नेछौं । त्यसपश्चात पोखरामा लोकबाजाहरुको संग्रहालय निर्माण गर्ने हाम्रो उद्धेश्य छ’ अध्यक्ष गुरुङले भने । उनले प्रतियोगीतामा प्रतिस्पर्धी एवं स्रोता दर्शकका रुपमा सहभागी हुन सबैलाई पत्रकार सम्मेलनमार्फत निमन्त्रणा गरे ।
प्रतियोगीताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, प्रतिष्ठान मातहतका प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी साँस्कृतिक समाज काठमाडौं र हिमाली साँस्कृतिक परिवार पोखराको सहकार्य रहेको कार्यक्रममा जानकारी दिईयो ।

प्रतियोगीतामा प्रथम हुने समूहले ६ लाख नगद पुरस्कार पाउने कल्याण शेरचन स्मृति प्रतिष्ठानले जनाएको छ । द्धितिय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगीतामा उत्कृष्ट गायक–गायिकालाई ५०÷५० हजार रुपैयाँ र अनुशाशित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रम संयोजक एवं आयोजक संस्थाका संचिव जिवन दाहालले नाङ्लोमा राखेर नगद पुरस्कार प्रदान गरिने र ट्याक्स प्रतिष्ठानले छुट्टै तिर्ने जानकारी दिए । प्रतियोगीताको तयारी तिव्र रुपमा अगाडि बढाईएको र प्रतियोगीतामा ४० देखि ५० समूहको सहभागीता रहने आँकलन गरिएको उनले बताए । प्रतियोगीतामा एक महिला र एक पुरुष गरी दुई–दुई जनाको समूह रहने बताउँदै समूह दर्ताका लागि २ हजार रुपैयाँ तोकिएको दाहालले जानकारी गराए । प्रतियोगीतामा प्रवेश शुल्क भने लाग्ने छैन् ।

प्रतियोगीतामा ५५ लाख आम्दानी र ३९ लाख रुपैयाँ खर्च हुने अपेक्षा आयोजकको छ । बचत रकमबाट स्वर्गीय शेरचनको प्रतिमा स्थापना गरिने कल्याण शेरचन स्मृति प्रतिष्ठानको भनाई छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको संयोजकत्वमा निर्णायक मण्डल रहनेछ । कार्यक्रममा बोल्दै बिजीले पोखरामा भव्य दोहोरीगीत प्रतियोगीता आयोजना गर्ने र देशभरका प्रतिभाहरुलाई मञ्च दिने स्वर्गीय शेरचनकै सपनामध्येको एउटा सपना रहेको र सोही सपना पुरा गर्न लागिएको बताए । उनले लोक स्रष्टा शेरचन बाँचुञ्जेल आफ्नो कर्म र भोगाईले बाचेपनि अहिले आफ्ना कृति र स्मृतिले जीवित रहेको बताए । उनले स्वर्गीय शेरचनको प्रतिभा स्थापनापश्चात त्यो ठाउँमा पुग्दा नवप्रतिभाहरुको शिर श्रद्धाले झुकोस्, साथीसंगीतहरुले सम्झने ठाउँ बनोस्, भोलीका दिनमा त्यो प्रतिमामा पुग्दा लोकसंगीतको एउटा इतिहास जान्न सकियोस् भन्ने उद्धेश्य रहेको बताए ।

अध्यक्ष बिजीले कार्यक्रमलाई भव्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । लोकप्रिय कार्यक्रम ‘ईन्द्रेणी’का संचालक कृष्ण कंडेलले प्रतियोगीतालाई सफल बनाउन प्रतियोगीताभर आफ्नो कार्यक्रमको टिम पोखरामा रहने बताए । प्रतियोगीतामा लोकदोहोरी एवं चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै अग्रज लोक स्रष्टा एवं चलचित्र निर्देशक नारायण रायमाझीलाई सम्मान गरिने तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै योगेन्द्र बहादुर बस्नेतलाई मरणोपरान्त सम्मान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो । पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्षद्धय दुर्गा रायमाझी, चन्द्र शर्मा लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

वि.स. २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मिएका स्वर्गीय लोक स्रष्टा, गायक शेरचनले ग्रामिण कुना कन्दरामा गाईने नेपालीपन बोकेका मौलिक लय एवं भाकालाई संकलन गरेर कालजयी बजाउनमा महत्वपूर्ण योगदान दिएका छन् । ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘कलिलो तामालाई सोध रामलाई’, ‘काली पनि देखेँ मैले गोरी पनि देखेँ’ लगायत उनका दर्जनौं गीतहरु जनजिब्रोमा झुण्डिएका छन् । वि.स. २०६७ साल माघ २४ गते शेरचनको निधन भएको थियो । त्यसपश्चात उनको स्मृतिमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’को स्थापना गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.