निर्देशक मिलन तामाङको नयाँ फिल्म ‘कहाँ भेटिएला’ घोषणा


काठमाडौं । फिल्म ‘माइतीघर’बाट सफलता हासिल गरेका निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को औपचारिक घोषणा गरेका छन् ।

निर्माण टिमका अनुसार यस फिल्मको छायाङ्कन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ महिनाको अन्त्यसम्म पूरा गर्ने योजना छ । यद्यपि, फिल्मका गीतको दृश्य भने माघ महिनामै छायाङ्कन हुने निर्माण पक्षको भनाइ छ । यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन ।

निर्देशक तामाङले अहिले फिल्मको नाम (टाइटल) मात्र सार्वजनिक गरेका छन् । उनले केही दिनपछि फिल्मका सम्पूर्ण कलाकार र प्राविधिकहरूको बारेमा जानकारी दिने बताए । “अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,” उनले भने, “केही दिनमा फिल्मका कलाकार र प्राविधिकहरूको बारेमा जानकारी दिँदै जानेछौँ ।”

मिलन तामाङले ‘माइतीघर’बाट निर्देशन यात्रा सुरु गरेका थिए । दशैंको फूलपातीमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘हरि बहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ मध्ये ‘माइतीघर’लाई दर्शकले निर्देशनका हिसाबले सबैभन्दा राम्रो मानेका छन् ।

‘माइतीघर’ले बक्सअफिसमा राम्रो व्यापार मात्र गरेन, यसले निर्देशक मिलन तामाङको नामलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरिदियो । सोही कारण उनले २०८२ सालको ‘नम्बर १ डेब्यु निर्देशक’ को उपाधि समेत हात पारेका छन् । उनी फिल्म, एनिमेशन, क्लासिकल म्युजिक र अभिनयको गहिरो अध्ययनमा पारङ्गत मानिन्छन् ।

फिल्म विश्लेषकहरूका अनुसार मिलन तामाङ र ‘माइतीघर’ दुवै अहिले देशभर चर्चाको विषय बनेका छन् । उनका समर्थकहरूले उनले ‘बलिदान’ जस्ता ठूला बजेटका फिल्मलाई समेत प्रतिस्पर्धा दिँदै नेपाली फिल्म निर्देशनमा नयाँ स्तर स्थापित गरेको बताउँछन् ।

‘माइतीघर’को शो अझै पनि देशभर चलिरहेको छ र फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको समयमा निर्देशक तामाङले भने, “‘कहाँ भेटिएला’ लाई अझ ‘नेक्स्ट लेभल’ मा बनाएर दर्शकलाई नयाँ अनुभूति दिनेछु ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.