दयाहाङ र विजयबीचको वर्चस्व युद्ध: ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक


काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिकामा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक करिब तीन मिनेट लामो ट्रेलरमा यी दुई अभिनेता बीचको वर्चस्व र अहंकारको टक्कर प्रमुख रूपमा देखाइएको छ।

खोलाको ढुंगा–बालुवाको ठेकाबाट जीवन गुजार्दै आएका दयाहाङ राईको क्षेत्रमा विजय बरालले आँखा लगाएपछि सुरु हुने संघर्ष नै कथाको केन्द्रीय धुरी बनेको छ।

ट्रेलरमा गरिबी र सामाजिक हेपाइको पीडा भोग्दै आएको विजय र आफ्नो प्रभाव कायम राख्न हरदम तयार दयाहाङबीचको भिडन्त आकर्षक रूपमा प्रस्तुत गरिएको छ। दयाहाङ आफ्नो समूहका केटाकेटीसँग रवाफका साथ देखिन्छन् भने विजय समृद्धि अर्यालले निभाएको पात्रसँग प्रेममा छन्।

जात, वर्ग र सत्ताको द्वन्द्वलाई बिम्ब बनाउँदै ट्रेलरले “उकालो चढ्न खोज्ने र सिंहासन जोगाउन चाहने” दुई पात्रबीचको रस्साकस्सीलाई चित्रण गरेको छ। “खोला मेरो झोलामा छ” भन्ने दयाहाङ र त्यसको स्वाद लिन खोज्ने विजयको कथा ट्रेलरभरि जीवित छ।

चलचित्रमा दयाहाङ राई ‘वरिष्ठ’ र विजय बराल ‘बलराम’ को भूमिकामा देखिएका छन्। दुवैको अभिनय र संवादले ट्रेलरमा बलियो प्रभाव छोडेको छ।

‘वरिष्ठ बलराम’ आउँदो कात्तिक ६ गते, भाइटीकाको अवसरमा देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका छन् भने कथा र सम्पादन पनि पौडेलकै हातमा रहेको छ। पटकथा महेश दवाडीले लेखेका हुन्।

दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय रहेको छ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे, लाइन प्रोड्युसर राम विष्ट रहेका छन्।

चलचित्रको छायांकन मानकृष्ण महर्जन, संगीत प्रशान्त शिवाकोटी, एक्सन निर्देशन सम्राट बस्नेत, र नृत्य निर्देशन प्रदीप लामाले गरेका छन्। काठमाडौँ उपत्यकामा चलचित्रको वितरण डीसीएनले र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.