काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीका को अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रिय बनेको छ । सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । प्रशान्त शिवाकोटीको शब्दरसंगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ ।
गीतमा युगल जोडीको भूमिकामा रहेका विजय बराल र समृद्धि अर्याल को अभिनय र नृत्य कौशललाई दर्शकले निकै प्रशंसा गरेका छन् । यसले चलचित्रको समग्र प्रचारप्रसारमा ठूलो सहयोग पुर्याएको छ।
गीतको सफलतासँगै चार दिनअघि सार्वजनिक भएको ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरले १३ लाख ९६ हजारभन्दा माथि भ्युज पाएको छ ।
चलचित्रको ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय बरालबीचको टकराबलाई दर्शकले मन पराएको पाइएको छ । दयाहाङको फरक गेटअप र दुई कलाकारको अभिनयको तारिफ युट्युबमा दर्शकले गरिरहेका छन् । एकअर्काको अस्तित्व स्वीकार गर्न नसकी आफ्नो अधिपत्य खडा गर्न खोज्दा उनीहरूबीच देखिएको द्वन्द्व रुचाएको पाइएको छ ।
गीत र ट्रेलरले बटुलेको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको छ ।
आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ । चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।