असुरक्षित चलचित्र प्राविधिक

सेलिब्रेटी नेपाल

चलचित्र जगत आँफैमा एक बृहत र संवेदनशील क्षेत्र हो । विश्वमै उत्कृष्ट र कठिन दश पेशा व्यावसाय भित्र चलचित्र क्षेत्र पनि एक हो । मुलतः यस क्षेत्रलाई मनोरञ्जनात्मक क्षेत्रको रुपमा हेर्ने र बुझ्ने गरिन्छ । तर एउटा चलचित्रले सिङ्गोे राष्ट्रको बस्तु स्थिती, कला, संस्कृति, समुदाय तथा सिङ्गोे राष्ट्रको रङ्ग, अवस्था र यथार्थतालाई बिषयगत प्रतिनिधित्व गर्दछ । त्यसैले चलचित्रलाई सिर्फ मनोरञ्जनात्मक सिर्जना भन्नु या बुझ्नु पुर्व समाज र राष्ट्रको ऐना हो भन्दा कुनै अन्यथा हुन सक्दैन ।

प्रसङ्गमा, नेपाली चलचित्रले पाँच दशक समय पार गर्दै गर्दा यसको बिकासक्रम, सिर्जनात्मक परिमाणहरु, क्षेत्रगत समर्पित कलाकार, सर्जक तथा प्राविधिकहरु सुरक्षित तथा संरक्षित छन् या छैनन् ? चलचित्रको आर्थिक लाभ, सफलताको उत्सवहरु तथा दर्जनौ देशहरुमा प्रदर्शन गरिए भन्ने खालका मौखिक, लिखित समाचारहरुको पछाडि दौडिदै गर्दा सम्बन्धित प्राविधिकहरुको मेहनत, धैर्यता र सिर्जनाले महत्व पायो कि पाएन भन्ने बिषयहरुलाई चलचित्र क्षेत्रकै अगुवाहरुले चिन्तन गरेका छन् कि छैनन् भन्ने विविध बिषयहरुलाई गम्भिर रुपमा मनन गर्न जरुरी छ । एउटा राम्रो चलचित्र निर्माण हुनुमा प्राविधिक पक्षको अह्म भूमिका रहन्छ । तुलनात्मक रुपमा नेपाली चलचित्रहरु समय–सापेक्ष उच्च प्रविधीयुक्त निर्मित छन् जो विश्व बजारको अनुपात नजिक छ ।

स्मरण रहोस, नेपाल जस्तो सानो भुगोल, कम जनसंख्या तथा न्यून लगानीमा पनि यत्ति सम्मको गुणात्मक चलचित्र निर्माण हुनु भनेको अकल्पनीय बिकासक्रम भित्रको क्रमभङ्गता हो भन्न सकिन्छ । तर यो क्रमलाई निरन्तरता दिन, कलाकारितालाई साँच्चीकै कलाकारिक बनाउन र लगानी सुरक्षा तथा दर्शकहरुलाई निरन्तर हल–हल सम्म आकर्षित गर्नका लागि नेपथ्यमा बसेर गहन रुपमा कार्य सम्पादन गर्ने प्राविधिक पक्षलाई बचाउन जरुरी छ भने उसको आर्थिक, नैतिक तथा सिर्जनात्मक क्षमताको सरंक्षण गर्नु जरुरी छ । जसले पेसागत रुपमा चलचित्र प्राविधिक हँु भनेर खुलेर बोल्न सकोस् , हिंड्न सकोस् ,जिउन सकोस् र गर्व गर्न सकोस् । न कि आज सम्मको कमजोर अभ्यास, नातावाद–कृपावाद, र क्षणिक सम्झौताले समग्र प्राविधिक क्षेत्र कमजोर हुँदै जानु, गुणात्मकतामा आँच आउनु र उदासीनता छाउनु चलचित्र क्षेत्रकै लागि अनुत्पादक हुने कुरा सर्वस्विकार्य छ ।

एउटा निर्माताले सधै चलचित्रमा लगानी गरिरहन्छ भन्ने छैन ताकी मुनाफाको सम्भावना अन्यत्र देखियो भने त्यही क्षेत्रमा लगानी मोड्न कठिन छैन तर एउटा पेसागत चलचित्र प्राविधिकले वर्षौं सम्म यस क्षेत्रमा लागिसके पछि तत्काल यो क्षेत्र र जिम्मेवारी परिवर्तन गरेर हिंड्न् सहज छैन । तर उसको आर्थिक तथा ब्यावसायिक हैसियत के रहन्छ ? अनुवन्धित चलचित्रको कार्य पश्चातको बेरोजगारी समयलाई कसरी लिने ? स्वास्थ रहेसम्म काम ग¥योे तर त्यस पछिको परिस्थिती कुन ढङ्गबाट सुरक्षित र संरक्षित तुल्याउने ?यी यावत गम्भिर सन्दर्भहरु नेपाली चलचित्र क्षेत्रको भविष्य सँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरु हुन । आजको पुस्ताले चिन्तन र कार्यन्वयन सुरु गर्यो भने नयाँ पुस्ताका लागि यो क्षेत्र आकर्षणको केन्द्र बिन्दु हुन सक्दछ । आकर्षणले गुणस्तरियता बढाउन टेवा पुग्छ र समग्र चलचित्र क्षेत्र सफल हुनेछ । अन्यथा चलचित्र प्राविधिकहरु हिजो र आज भोकभोकै ,अनिश्चित र असुरक्षित रुपमा काम गर्दैछन भने भोली पनि त्यो दिन दोहोरिने निश्चित छ । यो एक पक्षको मात्र समस्या हैन, सरोकारवाला सबैको साझा चिन्तन र दायित्व हो । त्यसैले सबैले गम्भीरतापूर्वक मनन गर्न जरुरी छ । स्वयम् प्राविधिकहरु पनि हजुर हजुरीया भन्दा एक कदम माथि उठेर आफ्नो क्षेत्रलाई सम्मानित र ब्यवस्थित गर्ने हो भने परिवर्तनका लागि यो एक शाब्दिक आन्दोलनका रुपमा मनन गर्दै हाम्रो साझा हितका निम्ति आवाज, बिचार र क्षेत्रगत ऐक्यवद्धता अनिवार्य छ । जसबाट अनियमित, असुरक्षित र अव्यवस्थित चलचित्र प्राविधिकहरु लाई सुरक्षित, व्यस्थित र मर्यादित बनाउन नयाँ युगको थालनी गर्न मद्दत पुग्ने छ ।


प्रितम पाण्डेय
लेखक चलचित्र सम्पादक हुन्