रहेनन् भजनशिरोमणी भक्तराज, जसको गायकीको ४६ सालमै गरियो हत्या


नेपाली सांगीतिक आकाशका चम्किला तारा भजन शिरोमणी भक्तराज आचार्यको सोमबार निधन भएको छ।

चर्चित गायकद्वय सत्यराज तथा स्वरुपराज आचार्यका बाबुसमेत रहेका आचार्यको ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो।

स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई अस्पताल लगिदैं गर्दा उनको निधन हुन पुगेको हो।

उनी ८२ वर्षका थिए।

आचार्यको जन्म विसं १९९९ साल असोज १६ गते बुबा बलभद्र र आमा रेनुकाको कोखबाट भएको थियो।

उनले ‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका छन्।

गायकसँगै संगीतकारसमेत रहेका आचार्यले झण्डै ५ सय को हाराहारीमा गीत गाएका छन्।

उनले अन्य गीतको तुलनामा भजन बढी गाएका छन्। त्यसैकारणले उनले भजन शिरोमणिको उपाधि पनि पाए ।

वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा ‘होसियार यसबखत समयको मुखलाई चिन…’ गीत गाएर प्रथम स्थान हासिल गरेपछि रेडियो नेपालमा उनको जागिरे जीवन सुरु भयो।

अब्बल र फरक गायकीबाट आफ्नो पृथक परिचय बनाएका आचार्यको जीवनमा विसं २०४६ सालको एक दिनले उनको गायकलाई मारिदियो।

२०४६ सालको मंसिर १९ गते काठमाडौंको बौद्धस्थित ‘छिरिङ रेस्टुरेन्ट’ मा उनी माथि सांघातिक हमला भयो । आक्रमणबाट घाइते आचार्यको टाउकामा करिब सय वटा टाँका लगाउनुपर्‍यो।

घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो तर अफशोच १२ दिनसम्म उनको शल्यक्रिया हुन सकेन् । कवि तथा गीतकार राममणि रिसालले डाक्टर उपेन्द्र देवकोटालाई अति नै अनुनय गरेर उनको शल्यक्रिया गराए।

शल्यक्रियापछि उनी निको त भए तर जिब्रोमा अचानक सेतो दाग देखियो । त्यो दागको जाँचपछि उनी क्यानसरको रोगी भएको पीडादायी खुलासा भयो।

त्यसपछि २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा उनको क्यान्सरग्रस्त जिब्रो काटियो ।

त्यसको ६ वर्षपछि कनकमणि दीक्षित र जर्मनीका लागि तत्कालीन नेपाली राजदूत नोबल किशोर राईको पहलमा जर्मनीमा उनको जिब्रो प्रत्यारोपण भयो ।

जिब्रो प्रत्यारोपणबाट उनी दोहोरो कुराकानी गर्न सक्षम त भए तर उनको यो सुमधुर संगीतिक आवाज फर्केन।

यसरी ४६ सालदेखि ३४ वर्षसम्म आफ्नो प्रिय स्वरहरुको सम्झनामा जीवन बिताएका उनको भौतिक महाप्रस्थानले नेपाली संगीतप्रेमीलाई एउटा पीडा दिएको छ ।

तर, यी सर्जक ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’ लगायत थुप्रै कालजयी गीतका स्वरहरुमा सदा जीवित रहनेछन् ।