२० बर्षको संघर्ष पछि हिरो बन्न सफल भएको छु श्याम


हिरो बन्ने सपना देख्न थालेको झन्डै २० वर्षपछि श्याम अर्याल सफल भएका छन् । उनले हिरोका रूपमा ‘हिरो’कै भूमिकामा अभिनय गरेको फिल्म ‘प्रोड्युसर’ अर्को हप्ता रिलिज हुँदै छ । रंगकर्मी, मोडल, आरजे र भिजेका रूपमा भने उनी परिचित छन् । पचासभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका उनका रेडियो कार्यक्रम ‘मेची महाकाली’ राम्रो सुनिने कार्यक्रममध्ये पर्छ । श्यामसँग गरिएको  अन्तरंग कुराकानीः
produser chauthoo
हिरो बन्ने पुरानो सपना पूरा भएको छ । कस्तो अनुभूति भइरहेको छ ?
म स्याङ्जाबाट पोखरा, पोखराबाट काठमाडौँ हिरो बन्ने सपनाका साथ हेलिएको थिएँ । हिरो बन्ने सपना देखेको लगभग दुई दशकपछि साकार भएको छ । त्यसैले खुसी त लाग्ने नै भयो । फिल्म रिलिजको मिति नजिकिँदै गर्दा मनमा डर मिसिएको उत्साह तरंगित भइरहेको छ ।

हिरो बन्नकै लागि शहर पसेको तपाईंले फिल्ममा पनि ‘हिरो’ भूमिकामा अभिनय गर्न पाउनुभयो । यो मिलाइएको हो कि संयोग हो ?
मेरा लागि यो गजबकै संयोग हो । अरू फिल्मबाहिरबाट हेर्दा हिरो भए पनि फिल्मको कथामा समाजकै अरू पात्रका रूपमा अभिनय गरिरहेका छन् । तर, मैले संयोगले यस्तो फिल्म पाएँ कि फिल्म बाहिरबाट हेर्दा त हिरो भइहालेँ, फिल्मभित्र पनि मेरो भागमा हिरोकै भूमिका पर्‍यो ।

हिरो बन्न तपाईंले वास्तविक जीवनमा भोगेका यथार्थसँग फिल्मको त्यो हिरोको कति अंश मिल्छ ?
धेरै नै मिल्छ । ठ्याक्कै मेरै चाहिँ होइन ।

हिरो बन्न रहर गरेको ठ्याक्कै कति वर्ष भयो ?
स्याङ्जाबाट क्लेज पढ्न पोखरा झर्दा पनि दिमागमा ‘कलाकार बन्न पाए’ भन्ने थियो । झन्डै २० वर्ष भयो । २०५१ सालमा पोखरामा इन्टरमिडियट पढ्दै गर्दा हिरो बन्ने उपक्रममा लागिसकेको थिएँ । त्यतिबेलै नाटक ‘लस्केका पाइला’मामा अभिनय गरेर कलाक्षेत्रमा प्रवेश गरेको हुँ ।

हिरो बन्न धेरै लामो समय धैर्य गर्नुभएछ !
सायद मेरो जति लामो समय धैर्य गर्ने र अहिलेसम्म प्रयास गरिरहने मान्छे नै छैन होला ।

काठमाडौँ आएपछि हिरो बन्न के–के गर्नुभयो ?
काम देखाउँछु भनेर धेरै फिल्ममा सानातिना रोल गरेँ । एउटा फिल्ममा सानो रोलमा पनि राम्रोसँग काम देखाउँछु भन्दा खुट्टा भाँचियो । मेरो काम देखेर अर्का निर्देशकलाई सिफारिस पनि गरेँ, तर आफैंले बनाउने फिल्ममा हिरोकै रूपमा लिएनन् । सानोतिनो रोल, टेलिसिरियल, म्युजिक भिडियो र टीभी कार्यक्रम गर्दै ‘एक दिन हिरो बन्छु’ भन्ने सपना पालिरहेँ ।

फिल्म ‘प्रोड्युसर’का निर्माताले चाहिँ तपाईंलाई कसरी पत्याए ?
फिल्मका निर्देशक जनकदीप पराजुलीसँग चार वटाजति म्युजिक भिडियोमा काम गरिसकेको थिएँ । प्रस्तुतकर्ता ज्योतिराज राईको ‘साइनो कस्तो–कस्तो’ भन्ने सिरियलमा पनि काम गरेको थिएँ । फिल्म बनाउने केशव अधिकारी मेरो असाध्यै शुभचिन्तक, मैले हरेश खाँदा पनि ढाडस दिने मान्छे र राजकुमार राई दाइको टिमले फिल्म बनाउने भएपछि मलाई अवसर जुर्‍यो ।

रंगमञ्चमा कति समय अभिनय गर्नुभयो ?
०५१ देखि ०५९ सालसम्म नाटकतिरै थिएँ । मोहनसिंह खड्कासँग रंगमञ्च र रेडियो नाटक गरियो । यहीबिचमा अनुप दाइ (अनुप बराल)सँग केही नाटक गरेँ ।

अनुप बरालसँग कसरी भेट भयो ?
उहाँ मेरा आफ्नै भान्दाइ हो । तर, उहाँलाई म नाटकमा अभिनय गर्छु भनेको थिइनँ । मैले अर्कै ग्रुपबाट पोखरा सभागृहमा ‘तुवाँलो’ भन्ने नाटक गर्दा उहाँले पनि हेर्नुभएछ । त्यसपछि भन्नुभयो, ‘भाइ, तिमी पनि नाटक गर्दा रहेछौ ।’ त्यसपछि दाइसँग ‘मलामी’ भन्ने नाटक गरेँ । उहाँसँगै अभिनय सिकेर केही समय काम पनि गरेँ । त्यसपछि पोखरामा एफएम खुल्यो । प्रकाश साय दाइ स्टेसन म्यानेजर हुनुहुन्थ्यो । ‘रेडियोमा बोल्छौ भाइ ?’ भन्नुभयो । त्यसपछि रेडियोतिर लागेँ । नेपाल टेलिभिजनका लागि पोखरा डटकम भन्ने कार्यक्रम पनि गर्न थालेँ ।

मिडियामा आएपछि हिरो बन्ने सपना थाती रह्यो ?
कामै नभएको भए प्रयास गरिन्थ्यो होला । पछि बिजी भइयो । पोखरामा सुमन पहारी, राजु गिरी र मेरो प्रोडक्सन हाउस पनि थियो । हामी म्युजिक भिडियो र डकुमेन्ट्री बनाउने, निर्देशन र अभिनय गर्ने काम पनि गर्थ्यौं ।

काठमाडौँ चाहिँ कहिले आउनुभएको हो ?
पोखरामा राम्रै प्रगति भइरहेको थियो । त्यसैले काठमाडौँ आउने योजना र रहर दुवै थिएन । काठमाडौँमा इमेज एफएमले नियमित प्रसारण थालेपछि भरत शाक्य दाइले फोन गरेर ‘भाइ काठमाडौँ आउने हो ?’ भन्नुभयो । त्यतिबेला के सम्झेर ‘आउँछु’ भनिदिएँ । पछि पो ‘यता यस्तो राम्रो भइराछ, दाइलाई किन आउँछु भनेँ होला’ भन्ने भयो । उहाँलाई दिएको वचन हार्न सकिनँ, काठमाडौँ आएँ ।

इमेज एफएममा ‘मेची महाकाली’ चलाउन थालेको कति भयो ?
छ वर्ष भयो ।

यो अवधिका तपाईंका त्यो कार्यक्रममा सहभागिता जनाउने सबैले फिल्म हेरिदिए पनि हिट हुने भयो ?
मेरो त्यो कार्यक्रम सुन्ने दुई प्रतिशतले मात्रै हेरिदिए पनि मेरो फिल्म हिट हुन्छ । कार्यक्रममा फोन गर्नेमध्ये धेरै जनाले भन्नुहुन्थ्यो, ‘म्युजिक भिडियोमा त्यति राम्रो देखिनुहुन्छ, फिल्म पनि खेल्नुस् न ।’ मैले फिल्म खेलेँ, हेर्नुहुन्छ होला ।

शुक्रवार साप्ताहिकबाट