सलिनको ‘यात्रा’ चैत २९ गतेबाट


सेलिब्रेटी नेपाल
काठमाडौँ : सलिनमान बनियाँ स्टारर चलचित्र ‘यात्रा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ सँग चैत २९ गते प्रदर्शन हुने भएको छ । निर्माता केशव भट्टराईको जन्मदिनमा ‘यात्रा’ को रिलिज चैत २९ लाई घोषणा गरिएको हो । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । चलचित्रमा उनी भ्लगरको भूमिकामा देखिने छन् ।

चलचित्रमा सलिनसँगै सलोन बस्नेत,मल्लिका महत,जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको चलचित्रमा अभिनय रहेको छ । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता रहेका छन् ।

संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन रहेको छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।