(सेलिब्रेटी नेपाल) काठमाडौँ
कमेडी रोलका लागि सर्वाधिक पाँचपटक फिल्मफेयर अवार्ड जितेका अनुपम खेरबाट तपाईं कस्तो अपेक्षा राख्नुहुन्छ, थाहा छैन। तर यति बेला राजधानीमा रहेका भेटरान अभिनेता बिहीबार पत्रकार सम्मेलनमा सुरुदेखि नै रौसे देखिए।
‘ओहो, पहिलो पटक पत्रकारहरू उच्च तहमा?’ सिभिल टे्रड मलमा अवस्थित सिने डी सेफको हलको उँचो भागमा रहेको दर्शकदीर्घामा बसिरहेका पत्रकारहरूलाई अनुमपले हल छिर्दाछिर्दै भने। सुरुआतमै उनले कार्यक्रमलाई अनौपचारिकता दिएपछि टुटेफुटेको नेपालीमा उनले कनिकुथी थपे, ‘म अनुपम खेर। सबैलाई नमस्कार गर्छु।’ उनमा सायद पछिल्लो समय नेपाल भ्रमण गरेका आफ्नै प्रधानमन्त्री नरेन्द्र मोदीको संसद भाषणको प्रभाव पनि थियो।
२५ वर्षअघि एउटा फिल्मको सुटिङको सिलसिलामा नेपाल आएका अनुपमले दोस्रो भ्रमणका लागि लामो समय लाग्नुमा अफसोस जनाए। तर चित्त बुझाउन भने, ‘पहिले नै आउन चाहन्थें, तर कुनै पनि कलाकार प्रायः काम भए मात्रै बाहिर निस्कन पाउँछ। मैले बल्ल मौका पाएँ।’
यति बेला उनी आफ्नै जीवनीमा आधारित नाटक ‘कुछ भी हो सकता है’ को ३२० औं मञ्चनका लागि काठमान्डु आएका हुन्। सुकुम्बासी बस्तीका १२० विद्यार्थीलाई पढाइरहेको कोसेली फाउन्डेसनले तिनै बालबालिकाको सहयोगार्थ गर्न लागेको शोका लागि अनुपमले यो अवसर पाएका हुन्। उक्त नाटक उनको जीवनको संघर्षपूर्ण समयमा आधारित छ। ‘जब मेरो स्वास्थ्यले साथ दिएको थिएन र आर्थिक रूपमा पनि कमजोर बनेको थिएँ, त्यो फेलियर अवस्थादेखि सफलतासम्म आइपुग्न गरेको कसरतको कथा हो यो नाटक,’ आर्मी अफिसर्स क्लबमा मञ्चन हुने नाटकबारे उनले थपे, ‘यो मेरो जीवनका बारेमा भए पनि यसमा सबैले आफूलाई पाउनेछन्।’
४८० भन्दा बढी फिल्म खेलिसकेको बताउने अनुपमले नाटक मञ्चनको पूर्वसन्ध्यामा आफू एकदमै नर्भस भएको पनि खुलाए, ‘एकदम नर्भस भइरहेको छु। ३० वर्ष फिल्ममा काम गरिसक्दा पनि नर्भस छु। किनकि थिएटर मेरा लागि अझै नयाँ नै छ।’ तर नाटय अध्ययनमा विख्यात एनएसडी पासआउट अनुपम अभिनयकै बलमा दुईपटक राष्ट्रिय अवार्ड जित्ने कलाकार पनि हुन्।
दार्शनिक टक शोका लागि प्रसिद्धि कमाएका अनुपमलाई राजधानीमा भने दर्शन बाँड्नु थिएन। उनी निरन्तर ठट्यौली पारामा प्रस्तुत भइरहे। ‘मलाई यहाँ देखेर तपाईंहरूलाई खुसी लागेको छैन?’ मिडियासमक्ष नै प्रश्न तेस्र्याएका उनले लगत्तै भने, ‘मलाई त एकदम खुसी लागिरहेको छ। बुद्ध र पशुपतिको भूमिमा आउँदा अत्यन्तै खुसी छु। हिमालयको देशमा रिल्याक्स अनुभव गरेको छु।’
उनले अब आफू पुनः छिट्टै नेपाल आउन र ट्रेकिङका लागि हिमाली भेगमा जान चाहेको बताए। अहिले नै भने नाटक गर्नुअघि पशुपति र बुद्धको दर्शन गर्ने उनले जनाए।
अनुपम आफूले बोलिसकेपछि चर्को ताली बजाउन उल्टै उक्साउँदै थिए र भन्दै पनि थिए, ‘मेरो हातमा त माइक छ। त्यसैले सिटी मार्छु।’ उनले सिटी मार्दा हलमा फेरि हाँसो गुन्जियो। प्रश्नकर्तालाई उनले घरपरिवारका बारेमा सोध्नुका साथै बिहानको खानाको बारेमा समेत सोधेर रमाइलो गरे।
‘बोर भयो’ र ‘मुड छैन’ दुई शब्द आफ्नो डिक्सनरीमा नै नभएको बताउने अनुपमले आफू कहिल्यै कम्प्लेन नगर्ने चरित्रको भएको खुलाए। भने, ‘यदि तपाईं आफू हुनुमा खुसी हुनुभयो भने अरू केही चाहिँदैन। म गरिब परिवारमा जन्में, तर बुवाले मलाई सबैभन्दा सस्तो चिज खुसी दिनुभयो। त्यसैले म अझै ३० वर्ष एक्टिङमै बिताउन चाहन्छु।’
उनका अनुसार, मान्छे आफ्ना समस्याहरूका बारेमा बोल्न सक्ने भयो, धेरैभन्दा धेरै प्रेम गर्न थाल्यो अनि कम्युनिकेसन बढायो भने डिप्रेसनलाई रोक्न सकिन्छ। जीवनले आफूलाई धेरै सिकाएको उल्लेख गर्दै उनले आफू सामान्य नै रहन चाहेको बताए। आत्मकथा लेखनका लागि आएको प्रस्तावलाई नाटकमा ढालेको उल्लेख गर्दै उनले भने, ‘म कलाकार मान्छे। लेख्नुभन्दा बरु परर्फम गर्नु ठीक हुन्छ जस्तो लागेर नाटक गरें।’
‘कुछ भी हो सकता है’ अनुपमले नै लेखेका हुन्। निर्देशन भने फिरोज अब्बास खानको हो। भारतको सेन्सर बोर्डका पूर्वअध्यक्षसमेत रहेका अनुपमले आफ्नो नाटक दुई देशबीच भ्रातृत्व वृद्धिमा सहायक हुनेमा विश्वास जनाए। थपे, ‘केहीअघि हाम्रा प्रधानमन्त्री यहाँ आउँदा मलाई खुसी लागेको थियो। त्यसले दुई देशको सम्बन्ध अझ राम्रो बनाएको छ। मेरो नाटकले पनि त्यो सम्बन्ध बढाउनमा सघाउला। काठमान्डुले मलाई सायद त्यसैले बोलाएको हो।’
इकान्तिपुर बाट जस्ताको तेस्तै