
काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान आज ६० वर्षमा प्रवेश गरेका छन्। सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मेका उनी बाल्यकालमा सेनामा जाने सपना देख्थे। खेलकुदमा अब्बल रहेका उनी आफ्नै कलेजका हकी कप्तान पनि थिए, तर एक चोटपटकले उनको खेलजीवन समाप्त गर्यो। त्यसपछि उनले रंगमञ्च रोजे र बने बलिउडका सुपरस्टार।
१५ वर्षकै उमेरमा बुबा गुमाएका शाहरुखले २६ वर्षमै आमालाई पनि गुमाए। आमाको निधनपछि उनले आमाको सपना पुरा गर्न फिल्म खेल्ने निर्णय गरे। पहिलो कमाइ ५० रुपैयाँबाट सुरु भएको उनको संघर्षले आज उनलाई विश्वकै सबैभन्दा धनी अभिनेता बनाएको छ।

शाहरुख र गौरीको प्रेमकथा पनि संघर्षपूर्ण रह्यो। धर्म र परिवारको विरोध बीच पाँच वर्षसम्म हिन्दू बनेर बसेका उनले अन्ततः १९९१ मा तीन विधिबाट विवाह गरे कोर्ट म्यारिज, निकाह र पंजाबी परम्परा अनुसार। आज उनीहरू बलिउडका सबभन्दा स्थायी जोडी हुन्।
‘फौजी’ र ‘सर्कस’जस्ता टेलिशोबाट अभिनय सुरु गरेका शाहरुखले ‘दीवाना’ (१९९२) बाट फिल्ममा प्रवेश गरे। ‘बाजीगर’ र ‘डर’ जस्ता नेगेटिभ भूमिकाले उनलाई छुट्टै पहिचान दिलायो। पछि ‘दिलवाले दुल्हनिया ले जाएंगे’ले उनलाई रोमान्सको राजा बनायो। उनले ‘पठान’ र ‘जवान’ जस्ता सुपरहिट फिल्ममार्फत २०२३ मा बलियो कमब्याक गरे।
परिवारप्रेमी शाहरुखका तीन सन्तान छन् आर्यन, सुहाना र अबराम। उनले सधैं परिवारलाई पहिलो प्राथमिकता दिएका छन्।
सफलता पछि पनि शाहरुखले परिवर्तनलाई अँगाले रेड चिलिज इन्टरटेन्मेन्ट स्थापना गरे, केकेआर क्रिकेट टिम किनेर खेल र व्यवसायमा पनि कदम राखे।
आज १२ हजार ४९० करोड रुपैयाँभन्दा बढी सम्पत्तिका मालिक शाहरुख खानले सिद्ध पारेका छन् “सपना ठुलो देख, विश्वास राख संसार तिम्रो हुन्छ।”



