‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र…’, सन्तोष श्रेष्ठ


दाङ हापुरमा उनी पश्चिम नेपालको लोकगीतसँगै हुर्के । कुनै बेला लोकसंगीत भरे, गाए पनि । डेढ दशक लामो करिअरमा सन्तोष श्रेष्ठको परिचयचाहिँ आधुनिक संगीतमा स्थापित भयो । ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र…’, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्‍यौ…’, ‘तिम्रो दिलमा चोट लाग्दा…’, ‘किन आउँछ तिम्रो याद…,’ ‘तिमीले भुल्न सके पनि…,’ ‘परेलीको बर्सातले…,’ जस्ता चर्चित गीतका यी स्रष्टाका आधा दर्जन एकल एल्बम र दर्जनभन्दा बढी संयुक्त एल्बम बजारमा आइसकेका छन्, दुई सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन् । अहिलेसम्मकै सर्वाधिक सीआरबीटी डाउनलोडेड गीत (तिमीले पराई ठानेपछि…) का ३२ वर्षीय संगीतकारले केहीअघि मात्रै दक्षिण अफ्रिकी नागरिक देव राखाको नेपाली एल्बममा सार्वजनिक गरेका थिए ।

 

लोकबाट आधुनिकतिर आउनुभयो ?
लोकगीत मेरो जीवन र संस्कृतिसँगै जोडिएर आएको थियो । त्यही भएर लोकबाट करिअर सुरु गरें । २०५६ मै मैले ‘जाउँ त माया उँधै सलल…’ गाएको थिएँ र त्यसयता तीन दर्जनजति लोकगीत गाएँ,
संगीत पनि भरें । तर मेरो रुचि आधुनिकतिरै थियो । त्यही भएर काठमाडौं आएर आधुनिक संगीतको साधना थालें । यो व्यावसायिक यात्रा पनि थियो ।
बर्सेनि एकल एल्बम गरिरहनुभएको छ, पाइरेसीले गर्दा गीत-संगीतको बजार त समस्यामा छ हैन र ?

हो, एल्बम निकालेर खासै कमाइ हुँदैन । एउटा राम्रो एल्बम निकाल्न पाँच लाख रुपैयाँ खर्च हुन्छ, देखिने रिटर्नचाहिँ खासै केही छैन । तर बजारको परम्परागत स्वरूप मात्रै भत्किएको ठान्छु म यसलाई । नयाँ ढंगले सम्भावनाहरू विकास भइरहेका छन् । डिजिटल संगीत सुरु भएपछि नेपालमा सीआरबीटीको चलन आयो र यसपछि रोयल्टी संस्कृति पनि विकास भयो । अहिले इमेल गरेको भरमा एकैपटक संसारभर गीतको मार्केटिङ गर्न सकिन्छ । पहिलेपहिले मैले आफ्नै गृहजिल्लामा एल्बम पठाउँदा दुई दिनमा पुग्थ्यो गाडीमा- त्यही पनि कच्याककुच्युक भएर । यूट्युबले पनि त रोयल्टीको व्यवस्था गर्दै छ ।

सीआरबीटी कमाइ त राम्रै हुँदो हो ।

सर्वाधिक डाउनलोड गीत मेरै भएकाले सबैले यस्तै भन्छन् । अहिले कमाइको भाँडो नै यही बनेको छ । तर समस्या चाहिँ कस्तो हुँदै छ भने राम्रोसँग कमाउन अब टप फाइभकाले पनि नसक्ने भए । टप वान सीआरबीटीमा पर्‍यो भने मात्रै कमाइँदो रहेछ । यसैको झिनाझप्टीका कारण अहिले बजारमा टिक्नेभन्दा बिक्ने गीतहरू निस्कन थालेका छन्, जसले गर्दा संगीतमा साधना गर्ने परम्पारा हराउँदै गएको छ ।
प्रविधिले सहज बनाएकोले त्यस्तो भएको भन्न सकिन्न ?

प्रविधिलाई त प्रयोग पो गर्ने हो त । यसैमा भरपर्नु त भएन नि । अहिले त ६० प्रतिशत प्रविधिकै कारण गायक बन्नेहरू छन् । गीत पनि ८० प्रतिशत मात्रै गाउँछन् र बाँकी त मिक्सिङमा मिलिहाल्छ नि भन्ने चलन छ ।

संगीतकारलाई पनि त अल्छी बनाएको छ नि हैन ?     
माउस क्लिक गरेको भरमा र किबोर्ड चलाएको भरमा संगीतकार हुने प्रवृत्ति पनि झ्याँगिँदै छ । यो निकै घाटाको कुरा हो । गीतको भाव एकातिर र संगीतको भाव अर्कोतिर भएको गीतहरू पनि त सुनिरहनुभएकै होला नि । एउटा गायिका या गायक चलेपछि सबैजना उनीहरूकै पछि लाग्ने प्रवृत्ति पनि छ, ट्युन मिल्ने हो कि हैन नबुझीकनै । एउटै गलाले धेरै थरीका गीत त गाउन सक्दैन नि ।
पछिल्लोपटक कन्सर्ट संस्कृतिले संगीतकारलाई भन्दा गायक/गायिकालाई हिट बनाइरहेको छ नि हैन ?

उनीहरू पर्फमर हुन् । त्यही भएर देखिन्छन् । दर्शक र श्रोताले फूल राम्रो फुलेको मात्रै देख्छन् र वासन लिन्छन् । तर, फूल फुलाउनुमा जरा र माटोको कति भूमिका हुन्छ भन्ने थाहै हुँदैन । असली स्रष्टा त गीतकार र संगीतकार हुन् ।

नेपाली आधुनिक संगीत कता जाँदैछ ? 

बढी नै निराशावादी गीत सिर्जना भइरहेका छन् । धोका भयो, छाडी गयो, असफल भएँ, रक्सी पिएँजस्ता गीतहरू । के सधैंभरि पीडाका गीत मात्रै सुन्ने ? त्यही माथि राजनीति, अर्थतन्त्र, द्वन्द्व लगायत पक्षहरूले ठुल्ठूला पीडा दिइरहेको बेला छ । अब जोस-जाँगर दिने आशावादी गीत-संगीतको सिर्जनातिर लाग्नुपर्छ कि भन्ने लाग्छ ।

कान्तिपुरबाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.