
पोखरा । जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत ‘मायामा मायामा’ पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन छ ।
भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगर फिचर्ड छन् । लमजुङको मर्स्याङ्ग्दि गाउँपालिकास्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी हाइड्रोपावर, पीस हिल रिसोर्ट लगायतका आकर्षक दृश्यहरू तथा कास्कीको अस्ताम र फेवाताल वरिपरिका स्थानमा छायांकन गरिएको यस भिडियोले दर्शकलाई प्राकृतिक सौन्दर्य र भावनाको मिश्रणमा डुबाउने प्रयास गरेको छ ।
गीतकार तथा निर्माता डा. जसपाल पाख्रिन तामाङले कार्यक्रममा बोल्दै, “यो गीत मैले चार महिनाअघि लेखेको हुँ । सम्पादनमा अनिता पौडेलको सहयोग महत्वपूर्ण रह्यो,” भन्दै गीत आफ्ना श्रीमती नरसोभा गुरुङसँगको प्रेमकथामा आधारित रहेको बताए । उनका अनुसार “मायामा मायामा” गीतले भावना र सरलतालाई जोड्ने कथा बोकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कवि, गीतकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराबाट बनेको यस गीतलाई “राम्रो उदाहरण”को रूपमा प्रस्तुत गर्दै भने, “अब अडियो मात्र होइन, भिडियो पनि उत्तिकै सशक्त हुनुपर्ने जमाना आएको छ । ‘मायामा मायामा’ गीतले त्यो सन्देश दिएको छ।” उनले गीतको पृष्ठभूमि, छायांकन र भावनात्मक प्रस्तुति सबै उत्कृष्ट रहेको प्रशंसा गरे ।
गायक तथा संगीतकार सन्तोष बस्यालले आफू १० वर्षदेखि संगीतकर्ममा सक्रिय रहेको जनाउँदै निर्माता जसपाल पाख्रिनप्रति धन्यवाद व्यक्त गरे । “पोखराबाट पनि उत्कृष्ट म्युजिक भिडियो बन्न सक्छ भन्ने उदाहरण नै ‘मायामा मायामा’ हो,” उनले दाबी गरे । गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको जानकारी पनि उनले दिए ।



							
							
							
							
							
							