स्वरकिन्नरी तारादेवी


  • जन्म मिति-२००२ साल माघ २ गते
  • जन्म स्थान -काठमाडौं,इन्द्रचोक
  • पिता- कृष्णबहादुर कार्की
  • माता-राधादेवी
  • मृत्यु- २०६२ साल माघ १२ गते                             तोतेबोलीदेखि नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षको उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित अनि मोहित बनाएको थियो । त्यस बेला यिनले रेडियो नेपालमा नि:शुल्क नै बालगीत गाउने गर्थिन् । केही वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपियाँ पाउन थालिन् । उनको योग्यतामा निखार आउन थाल्यो । रेडियो नेपालमा तारादेवीलाई खरदारसरहकी गायिकामा नियुक्त गरियो । केही समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा भइन् । त्यस पदमा रही यिनले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र संगीतमा स्नातकको योग्यता हासिल गरिन् ।

उकाली ओरालीहरूमा, शुभकामना भई, कालीपारे दाइ कति राम्रो, साँघुरी बारी नि हो, सोचेजस्तो हुन्न जीवन, फूलको थुंगा बगेर गयोजस्ता मौलिक अनि सदाबहार नेपाली गीत उनले गाएकी छन् । तारादेवीले गाएका गीत गुनगुनाउने धेरै छन् । उनका गीतमा मान्छेको मर्म, खुसी र जिन्दगानी भेटिन्छ ।
रेडियो नेपालमा ३० वर्षसम्म नासुको पदमा रहेपछि तत्कालीन राजा वीरेन्द्रको निगाहमार्फत उनी शाखा अधिकृत भइन् । उनले गीत गाएरै इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाएकी छन् । स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दन ग्रहण गरेकी छन् ।तारादेवी मरेर गए पनि उनको आवाज नेपालीमाझ जीवितै छ । यिनलाई ‘स्वरकिन्नरी’को उपमासमेत दिने गरिएको छ ।

https://www.youtube.com/watch?