काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत‘लाज शरणम्’टिमले आज सार्वजनिक गरेको छ ।
‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द रहेको छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको रहेका छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।