‘लाल मोहन जी’ मा बिपिन,कर्मा र अर्पण



काठमाडौंँ । चलचित्र ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चलचित्र ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक समेत रहेका सम्राटको निर्देशनमा बन्न लागेको चलचित्र ‘लाल मोहन जी’ का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भूमिका रहने चलचित्रका लागि एक अभिनेत्री भने चयन हुन बाँकी छ । प्रवेश पौडेलको कथामा पटकथा सम्वाद आकाश बरालले तयार पारेको हुन्।

चलचित्रमा सन्तोष राजको संगीत, निरज कँडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् । नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको चलचित्र जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ । सस्पेन्स कमेडी कथामा बन्न लागेको चलचित्रको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे ।