अभिनेत्री कबिता बनिन् लेखिका,’म अनि मेरो’ पुस्तक सार्वजनिक


काठमाडौँ। चलचित्र ‘बबी’कि अभिनेत्री कबिता गुरुङ अब लेखिका पनि बनेकी छन्। कबिताले लेखेको पहिलो पुस्तक ‘म अनि मेरो’को सोमबार एक कार्यक्रमको बीच लोकार्पण गरियो। कबिताले आफ्नो पुस्तक आफैं सार्वजनिक गरेकी हुन्। पत्रकार राजाराम फुयाँलले सम्पादन गरेको पुस्तक निकाल्ने कार्यको संयोजन निर्देशक जनकदीप पराजुलीले गरेका थिए। नरेश भट्टराईले संचालन गरेको कार्यक्रममा निर्देशक मिलन चाम्स लगाएत संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

पुस्तकको बिषयमा लेखिकाको भनाई
”म कुनै व्यवसायिक लेखक होइन न त किताब लेख्ने मेरो कुनै योजना नै थियो । पढाइ अनि लेखाइमा उति रुची नभएको मान्छे म त्यति पढाइ अनि लेखाइ नगरेकै कारणले कतिचोटि गाली, स्कूलमा फेल पनि खाएको छु । अहिले नै पनि कसैले अलि लामो म्यासेज पठायो भने पनि त्यो त्यसमा के लेखेको थियो भनेर फाने गर्ने मान्छे म । म आफैले पनि कहिल्यै सोचेको थिइन कि मैले मेरो जीवनमा किताबमा पनि लेख्छु भनेर ।
कुनै योजना बिना म त्यसको विज्ञ नभएकोले यसमा धेरै त्रुटिहरू छन् नै किनकी जब मैले यो लेख्न सुरु गरेर लेख्दै गए आफै पनि यसमा बग्दै गए । मलाई यादै भएन की म किताब लेख्दैछु । मैले लेख्दै गएका हरेक कुराहरूले मलाई त्यहि समय पुराई दिन्थ्यो । हजुरहरू लाई अचम्म लाग्यो होला है । ठाउँलाई ठेउ भनेको भएर ? हो यस्ता यस्तै त्रुटीहरू छन् मेरो किताबमा ।
मलाई थाहा छ यसलाई सच्याउन , मिलाउन मिल्छ तर मैले यो चाहिन । किनकी यही नै म हुँ र यही नै हो मैले बोलेको र बोल्ने तरिका । मैले मेरो यो कुराहरू अहिले को म भएर होइन त्यही बेलाको म भएर लेखेको छु । अहिलेको “म ले” त्यो यो बेलाको “म ले” भन्दा धेरै कुराहरू जानेको छ, बुझेको छ, जस्तो लाग्छ । तर त्यो बेलाको म, मेरो सोच र मैले गरेको निर्णयहरू अनि मैले भोगेको, महसुस गरेको कुराहरू अहिले सम्झदै मात्र पनि मन गरूङ्गो भऐर आउँछ, नरमाइलो लागेर आउँछ ।

फेरि लाग्छ मैले जे गरे ठीक गरे । जे जस्तो कुराहरू भोगे महसुस गरे त्यसले मलाई धेरै कुराहरू सिकायो, बुझायो र अलिकति भएपनि परिपक्को बनायो । मेरो उमेशप्रतिको त्यो पागलपन वाला माया, परिवारप्रतिको जिम्मेवारी बाला माया, एकातिर आफ्नो मन भित्रको माया अर्कोतिर परिवार, समाज, जात, धन, सम्पत्ति अनि अरू धेरै कुराहरूमा मैले मेरो पागलपन वाला माया रोजे । त्यसको बदलामा मैले धेरै कुराहरू गुमाए तर गुमेको भन्दापनि म मैले पाएको कुरामा खुशी थिएँ । मैले सन्सार पाएको थिएँ । उमेशलाई पाएको थिएँ । म ! उमेश र उमेशले मलाई गरेको र गर्नु हुने मायाको बयान गर्न सक्दिन । न त बयान नै गरेर त्यसको महत्व घटाउन चाहन्छु । समयले सबै घाऊहरू पुरी दिन्छ भने जस्तै, मेरो घाऊ पनि समयले पुरिदियो । अहिले मलाई त्यो बेलाको समय, परिस्थिति, मान्छे र उनीहरूको केही कुरामा पनि केही रिस, राग मन दुखाई छैन ।

यसलाई मैले समयले हामीलाई खेलाएको खेल सम्झेको छु । यो खेल खेल्दाखेल्दै लड्दा दुखेको मनको पिडा, हार्न र लड्न खोज्दाको डर, फेरो दिंदाको खुशी । यो सबै मन भित्रको कुराहरूलाई शव्दमा लेखेर एउटा किताबको रुपमा दिएको छु । मलाई आशा छ हजुरहरूले म र मेरो जीवनमा घटेको घटनाहरूलाई एउटा किताब नभएर मैले हजुरहरूलाई आफ्नो सम्झेर सुनाएको मेरो जीवनमा आएको राम्रो नराम्रो दिन, समयहरू र त्यो समयहरू पार गर्दै मैले भोगेको, महसुस गरेको मेरो मन भित्रको कुराहरू हुन् भन्ने बुझिदिनु हुनेछ ।

एकदिन एउटा इन्टरभ्यु दिदै थिए । इन्टरभ्यु लिनुहुने दाइले, माया के हो ? जीवन के रहेछ त कविता ? भनेर सोध्नु भयो । दाइले सोध्नु भएको हरेक प्रश्नको उत्तर मजाले दिइरहेको म, दाइको यो पालीको प्रश्न सुनेर अक्न न बक्क परे । त्यसपछि मैले “माया मेरो स्कुल पढ्दा बेलाको साथी हो ! अनि जीवन उसको भाइ हो ।” भनेर हाँसो हाँसोमा त्यो प्रश्नको उत्तर दिएर म त्यो दिन त्यो प्रश्नबाट भागे । त्यो दिन त म भागे तर त्यो प्रश्नले मलाई पछ्याई रह्यो ।
त्यो दिनदेखि म त्यो प्रश्नको उत्तर खोज्नथाले । साचै जीवन के हो त ? के रहेछ त जीवन ? दाइले मलाई सोध्नु भएको यो प्रश्न अब म आफैले आफैँलाई सोध्नथाले । तर मैले यो प्रश्नको उत्तर भेट्न सकिन । मेरो आफ्नो जीवनमा धेरै कुराहरू भए । धेरै उतार चडाब, धनी गरिवी, सुख दुःख, हाँसो रोधन, के यही हो त जीवन ? तर फेरि लाग्यो जीवन त अझै बाँकी छ । या अझै कत्ति कुराहरू हुन बाँकी होला । यो प्रश्नको उत्तर म अहिले नै दिन सक्दिन । तर यो प्रश्नले मेरो मनमा धेरै खुल्दुली मचाई दियो ।

म विगतमा पुग्न थाले । कुराहरू याद आउन थाल्यो । कति कुरा सम्झेर एक्लै मुसुमुसु हाँसे पनि । कति कुराहरू सम्झेर आँखबाट आशु मात्र होइन मन पनि गरूङ्गो भएर आयो । यो सबै कुराहरू हुँदै गर्दा मलाई लाग्यो दाइको यो एक प्रश्न मैले मेरो आफ्नो जीवनमा बितेका धेरै कुराहरू याद गर्ने मौका पाए । अझै कति कुराहरू त बिर्सिएको होला । अहिले नै त कति कुराहरू बिर्सिसकेको छु भने, पछि बुढी भैसक्दा त कति कुराहरू बिर्सिसक्छु होला है । होइन म मेरो जीवनमा भएका हरेक तीता मीठा कुराहरू पछिसम्म पनि सम्झिरहन चाहन्छु । त्यसैले म लेख्छु आफ्नो कथा आफै ।- कबिता गुरुङ