पैसा कमाउनको लागि होइन रास्ट्रीयताको लागी बुद्धको सिनेमा बनाएँ -रमीत


नायक रमित ढुंगाना नेपाली चलचित्र क्षेत्रका लागि नयाँ नाम होईन । चलचित्र ‘माया नमार’बाट नेपाली रजतपटमा डेब्यु गरेका उनले पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखे । दर्जनौं चलचित्रमा मुख्य भूमिकामा देखिएका रमित बीचमा एक्कासी अमेरिका उडेपछि उनी गुमनाम झैं भए । अमेरिका बसे पनि समय–समयमा नेपाल आइरहने उनी यसपटक भने आम नेपाली दर्शकमाझ आफुले निर्माण गरेको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ लिएर आएका छन् । व्यावसायिक चलचित्रमा अभिनय गर्दागर्दै राष्ट्रियताको विषयलाई उठाइएको चलचित्र प्रदर्शनका लागि नेपालमा रहेका उनीसँग गरिएको कुराकानीको सारसंक्षेप
Ramit-dhungana

व्यावसायिक चलचित्रमा काम गरिरहँदा एक्कासी बुद्ध सम्बन्धी चलचित्र लिएर आउनुभयो नि ?

हो, म व्यावसायिक चलचित्रबाटै दर्शकमाझ चिनिएको हुँ । चलचित्रमा काम गर्दागर्दै म अमेरिका गएँ । त्यहाँ बस्दा त्यहाँको पाठ्यपुस्तकमा गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनी प्रचार गरिएको रहेछ । मैले पढ्ने कलेजमा पनि त्यही कुरा पाएँ । त्यहाँका अधिकांश मानिसलाई बुद्ध भारतमै जन्मेका हुन् भन्ने भ्रम रहेछ । त्यसकारण त्यो भ्रमलाई चिर्दै बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिनका लागि यो चलचित्र बनाएँ ।

यसको अर्थ बुद्धको देश नेपाल हो भन्नलाई फिल्म बनाउनुभयो ?
भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संसारभरी सबैलाई थाहा छ, तर पनि अमेरिकासहित केही मुलुकमा भारतले गलत तरिकाले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने प्रचार गरिरहेको छ, जुन आफैमा असह्य कुरा हो । उनीहरूको पाठ्यक्रममा नै गौतम बुद्ध भारतमा जन्मिएको कुरा लेखिएको छ । त्यसकारण भारतको गलत प्रचारलाई मेटाउँदै बुद्धको देश नेपाल हो भन्न फिल्म बनाएको हुँ । मैले राष्ट्रियताको लागि नै बुद्धको फिल्म बनाएको हुँ ।

यो त संवेदनशिल विषय हो नि ?

पक्कै पनि संवेदनशिल विषय नै हो । तर जहाँनेर राष्ट्रियताको सवाल जोडिन्छ, त्यहाँ संवेदनशिल भन्ने कुरा हराउँदो रहेछ । त्यसकारण मैले संवेदनशिलतालाई बिर्सेर राष्ट्रियतालाई सम्झँदै फिल्म बनाएँ ।

फिल्म बनाउँदा के के समस्या भोग्नुप¥यो ?

मुख्य कुरा परमिटमा समस्या झेल्नुप¥यो । अमेरिकामा सुटिङ गर्दा परमिटले निकै तनाव दियो । हामीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा छायांकन गर्दा पनि अनुमति लिन निकै समस्या भयो । सिंहदरबारको मुख्यद्वार अगाडि सयौं मान्छे राखेर छायांकन गर्दा पनि निकै समस्या झेल्यौं ।

फिल्मको ट्रेलरमा तपाई हावी हुनुभयो भन्ने चर्चा छ नि ?

त्यो सही कुरा हो । किनभने फिल्मको प्रमुख कलाकार मै हुँ । नेपालबाट अमेरिका पढ्न जाँदा त्यहाँ बुद्धको बारेमा देखिएको भ्रमलाई हटाउन सक्रिय पात्रको भूमिकामा मैले अभिनय गरेको छु । त्यसकारण पनि ट्रेलरमा मुख्य पात्री हावी हुनु नौलो कुरा होइन ।

फिल्ममा अन्य कलाकारको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म एकदमै सन्तुष्ट छु । फिल्मको कथाले मागे अनुसारको उहाँहरूले अभिनय गर्नुभएको छ । मेरो फिल्ममा नेपाली कलाकारदेखि अमेरिकामा रहेका कलाकारले समेत अभिनय गरेका छन् । त्यसकारण पनि म कामबाट सन्तुष्ट छु ।

तपाईले रिलमा बुद्धबारे फिल्म बनाए पनि रियलमा अझै पनि केही मान्छेहरूलाई बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम छ, यसलाई चिर्न के गर्नुपर्ला ?
मैले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि यो फिल्म बनाए पनि बुद्धबारेको भ्रम चिर्नका लागि धेरै उपायहरू बाँकी नै छन् । पहिलो कुरा संसारभर छरिएर बसेका नेपालीबीच एकताको आवश्यकता छ । मेरो भनाईको अर्थ नेपालीहरू बाँडिएका छन् भन्न खोजेको होईन् । जुनसुकै समयमा पनि राष्ट्रियताको सवालमा नेपालीहरू एक भएको उदाहरण प्रशस्तै छन् । त्यसकारण पनि बुद्धको विषयमा त्यो एकता आवश्यक छ । अर्को कुरा, विद्यार्थीलाई वा आम मान्छेलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा पढाएर भन्दा पनि दृश्यमार्फत देखाएर गर्न सके प्रभावकारी हुन्छ ।

फिल्मको प्रमोसनमा सरकारी सहयोग कस्तो छ ?

हामीले सरकारबाट सहयोग पाएका छौं । पर्यटन बोर्डले सहयोग गर्ने भनेको छ । पर्यटन मन्त्रालयले आफ्नो लोगो फिल्ममा प्रयोग गर्ने स्वीकृति दिएको छ । आगामी जेठमा हुन लागेको बौद्ध सम्मेलनका लागि मलाई सदस्य नियुक्त गरेको छ । हामीले सम्मेलनमा भाग लिन आउने सबै पाहुनालाई जेठ ६ गते फिल्म देखाउने योजना पनि बनाएका छन् ।

बुद्धको प्रचारमा सरकारको भूमिका के हुन सक्ला ?

सरकारी स्तरबाट नै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विषयमा आवाज उठाउन जरूरी छ । किनभने नेपालबाहेक अधिकांश देशको पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने कुरा लेखिएको छ । त्यसलाई परिमार्जन गर्ने कुरामा सरकार सक्रिय हुनुपर्छ ।

अबका योजना के छन् ?

अहिले हामी फिल्म रिलिजको संघारमा छौं । यो रिलिज पछि सरकारले के गर्छ, त्यसको पखाईमा छौं । संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले पनि फिल्म हेरेपछि बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुराको पुष्टि हुन्छ भन्नेमा हामी आशावादी छौं । हामी नेपालका सभासदलाई पनि फिल्म देखाउने तयारी गर्दैछौं । उहाँहरूले समय दिएपछि फिल्म शो गर्नेछौं ।