
सेलिब्रेटी नेपाल। अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको नयाँ नेपाली यूगल गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सोमवार दिउँसो दर्शकमाझ ल्याइएको हो ।
गीतमा गायिका मिलन नेवार तथा गायक मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्दहरु राजनराज शिवाकोटी तथा गोविन्द भट्टले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले दिएका छन् । गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार तथा सञ्जीव बराइलीले गरेका छन् ।
म्युजिक भिडियोका स्थापित निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह तथा सनिशा भट्टराई मुख्य भूमिकामा छन् । उनीहरूसँगै भिडियोमा कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ ।
भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति तथा सामूहिक नृत्यलाई प्राथमिकता दिइएको छ । भिडियोमा दर्शकका प्रिय अभिनेता पल तथा अभिनेत्री सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक देखाइएको छ । गीतको दृश्यमा नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिको संयोजन देख्न सकिन्छ ।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् । गीतको अडियो तथा भिडियो गरिमा फिल्म्सले निर्माण गरेको हो ।



