नचाहिने गसिप बनेर अगाडी आउन चाहन्न शिखा शाही


Ichha-munal
चलचित्र ‘खोज’बाट डेव्यू गरेकी नायिका शिखा शाहीले ‘मानव’, ‘रङ’, ‘सेफ ल्यान्डिङ’, ‘भिजिलान्ते’ लगाएतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । यतिबेला उनि अभिनित अर्को चलचित्र ‘इच्छा’ रिलिजको संघारमा छ । फाल्गुण ८ गते अल नेपाल रिलिज हुने यो चलचित्रमा शिखाको मूख्य अभिनय छ । शिखासँग गरिएको छोटो कुराकानीको संपादित अंश:

१. तपाईँको नजरमा इच्छा कस्तो चलचित्र हो ?
इच्छा एकदम पारिवारिक चलचित्र हो । नेपाली परिवारको घटनालाई आधार बनाएर बनाईएको छ । बिशेष गरी बाबु- छोरी बीचको सम्बन्धलाई देखाउन खोजिएको छ ।

२. इच्छा कसरी मौलिक भयो ?
हामी नेपाली हो । हाम्रो अवस्था हेर्दा हलिउड, बलिउड जस्ता अन्य चलचित्र उद्योगसँग तुलना गर्न मिल्दैन । हाम्रो चलचित्र एक क्षेत्र मात्र हो । उद्योग समेत बनिसकेको छैन । यसकारण नेपाली आँखाले हेर्दा चलचित्र राम्रो छ । मौलिकको कुरा गर्दा अहिले प्रोमो-गीत हेर्दा भयंकर नयाँ केहि देखिँदैन । हामी भित्रकै कुराहरु देखिन्छ । हलमा गएर हेर्दा पनि ‘इच्छा’लाई आफ्नै कथामा पाउनुहुनेछ ।

३. तपाई यति धेरै चलचित्र खेल्दा पनि दर्शकको नजरमा पर्न गाह्रो भयो । ‘इच्छा’ले के गर्ला ?

पहिलो कुरा त यसअघि मेरो सोलो रोल थिएन । त्यसकारण पनि अगाडी आउन सकिन । दोश्रो कुरा म अनावश्यक हल्ला मच्चाएर, नचाहिने गसिप बनेर अगाडी आउन चाहिन । इच्छामा नायिका म मात्रै छु । अरुमा भन्दा भूमिका पनि राम्रो र बोल्ड छ । मेरो पूर्ण कला देखाउन पाएकी छु । ‘इच्छा’ले मलाई अग्रणी नायिकाको पंक्तिमा नाम आउन पक्कै मद्दत गर्नेछ ।

४. ‘इच्छा’को यति धेरै चर्चा हुँदा तपाईँ कता हराउनुभएको थियो ?

हराएको चाहिँ होइन । हराएको जस्तो देखियो । के कुरा सत्य हो भने निर्देशक मुनाल घिमिरे र मेरो कन्ट्याक्ट नभएको हो । मेरो नितान्त व्यक्तिगत कामले गर्दा सम्पर्कमा आउन सकिन । मैले चलचित्रलाई एकदमै मिस गरिरहेकी थिएँ । भाग्यवश रिलिज मिति सर्‍यो । मिति सर्दा सबै कुरामा राम्रो भएको जस्तो लागेको छ । सोलो रिलिज पाएको छ अनि म पनि प्रचार-प्रसारमा आउन पाएकी छु । अघिल्लो रिलिज मितिमा उपस्थित हुन नसक्नुमा मेरो व्यक्तिगत काम मात्र हो ।

५. कस्तो काम हो भन्न मिल्छ ? कि चलचित्र टिमसँग ठ्याक-ठुक भयो ?

भन्न चाहिँ मिल्दैन । त्यो मेरो एकदमै व्यक्तिगत काम हो । यति राम्रो चलचित्र युनिट पाउँदा पनि मैले समय दिन नसक्दा एकदमै नरमाईलो लागेको थियो । अनि अहिले यसरी समय दिएर प्रचारमा उत्रिएकी छु । कसरी ठ्याक-ठुक भन्न मिल्छ र ? यो चलचित्र टिम जस्तो सायद कहिल्यै पाउँदिन । यो चलचित्रले मलाई नयाँ बाटोमा हिडाउनेछ । भगवानको कृपाले मैले समय निकाल्नु र ‘इच्छा’को रिलिज सर्नु एकैपटक भयो ।

६. ‘इच्छा’ पछि फिल्मी करियरको नयाँ फड्को हुनेछ भनिएको छ नी ?
दर्शकको हातमा छ । मेरो अभिनयलाई मन पराउनुभयो भने पक्कै मेरो फड्को हुनेछ ।