
सेलिब्रेटी नेपाल। कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो ।
करिब १ करोड ५० लाखदेखि २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले भारतमा ३४२ करोड ८६ लाख भारु नेट र विश्वभर ४५३ करोड ३३ लाख भारु ग्रस कमाइ गरेको छ । सुरुवाती दुई सातासम्म सुस्त व्यापार गरेको फिल्मले तेस्रो सातादेखि भने तीव्र गतिमा कमाइ बढाएको थियो ।
फिल्मको सफलताको उत्सव सामान्य बलिउड पार्टीभन्दा फरक थियो । धार्मिक स्थलमा आयोजना गरिएको कार्यक्रममा भजन र आरती गरिएको थियो ।
सफलता उत्सवमा फिल्मका मुख्य अभिनेता शोभिनव सत्य (जसले नीम करौली बाबाको भूमिका निर्वाह गरेका छन्) र निर्देशक डा. विशाल चतुर्वेदी पनि सहभागी भएका थिए ।
निर्माण पक्षले फिल्मको सफलताको उत्सव कुनै पाँचतारे होटल वा महँगो रेस्टुरेन्टमा नभई जुहुस्थित इस्कोन मन्दिरमा मनाएको हो ।
रिपोर्टअनुसार कार्यक्रममा मदिरा वा मांसाहारी परिकार राखिएको थिएन । पाहुनाका लागि शाकाहारी तथा सात्त्विक भोजनको व्यवस्था गरिएको थियो ।
कार्यक्रमका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ती भिडियोमा कार्तिक आर्यन मन्दिर परिसरमा पुग्दै फिल्मका टोलीका सदस्यहरूसँग भेटघाट गरिरहेको देखिन्छ । सिनेमाघरमा सफलता पाएपछि ‘हनुमान अंश’ अब ओटीटीमा पनि प्रदर्शन हुने भएको छ ।



