पशुपतिको रोचक किस्सा : पढ्न भनेर निस्किएका उनलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …

हालै एक महोत्सवमा गीत गाउँदा असिनपसिन भएका पशुपति


काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनका थुप्रै गीतले स्रोता दर्शकको मन जितेका छन् । सांगीतिक क्षेत्रमा नामसँगै राम्रो दाम पनि कमाएका छन् । दर्जनौं देशमा समेत पुगिसकेका स्रोता दर्शकको प्रिय गायक पशुपतिलाई गायनमा सुरुवाती दिनमा परिवारको भने स्वीकृति थिएन् ।

ईञ्जिनियर अथवा सरकारी जागिरे बनाउने उनको परिवारको चाहाना थियो । त्यसैले पशुपति परिवारलाई थाहा नदिई सांगीतिक क्षेत्रमा होमिएका थिए । कतिसम्म भने उनले दोहोरी साँझमा गाईरहेको, एल्वम समेत ल्याईसकेको समेत परिवारलाई थाहा थिएन् ।

तर एकदिन यस्तो भैदियो, उनका बुवा गाउँबाट काठमाडौं आए । जतिबेला भृकृटीमण्डपमा राष्ट्रिय दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रम हुँदै थियो । जुन कार्यक्रममा पशुपति पनि सहभागी हुँदैथिए । ‘बुवालाई भनौं, गाली खाइने डर । नभनौं, कोठाबाट कसरी फुत्किने ?’ पशुपति त्यो क्षण सम्झिन्छन्, ‘अनि पढ्न जान्छु भनेर निस्किएँ ।’
बुवालाई पढ्न जान्छु भनेर झोलामा दौरा सुरुवाल राखेर कोठाबाट निस्किएर भृकुटीमण्डप पुगे उनी ।

फाइनल भएकाले दर्शकहरूको बाक्लो भीड लागेको थियो । प्रतियोगिता शुरू भयो, केही समयपछि पशुपतिको गाउने पालो आयो । गीत गाउँदै गर्दा यसो दर्शकदीर्घामा आँखा डुलाए, पछाडिपट्टि बुवाले ताली बजाइरहेको देखे ।

उनी सम्झन्छन्, ‘म निस्किए पनि बुवा पनि घुम्न भनेर निस्किनुभएछ । भृकुटीमण्डप पुग्दा भीडभाड देखेपछि टिकट काटेर भित्र छिर्नुभएको रहेछ ।’ ६२ टीम सहभागी प्रतियोगीतामा पशुपति द्वितीय भए । ७५ हजार रुपैयाँ नगद पुरस्कार पाए । त्यतिबेला बुवाले गाली भने गरेनन् । त्यसपछि बरु दाइ र आमाले यो बिग्रिने भयो भनेर चिन्ता गरेको पशुपति सम्झन्छन् । यद्यपि पशुपति गीतसंगीतबाट पछि हट्ने पक्षमा थिएनन् । यो कुरा २०५९/६० सालतिरको थियो ।

विस्तारै उनका एकपछि अर्को गीतहरु चल्दै गए । २०७० सालमा सार्वजनिक ‘मलाई अमेरिका यही’ बोलको गीतपछि भने आफूप्रति परिवारको गुनासो नरहेको पशुपतिले बताएका छन् । अब छोराले गीतसंगीतमै राम्रो गर्न सक्दोरहेछ, गीतसंगीतबाट जीवन चलाउन सक्छ भन्ने विश्वास त्यस गीतपश्चात परिवारमा परेको उनले बताएका छन् । अहिले बुवाआमा आफूप्रति एकदमै सन्तुष्टि र खुशी रहेका पशुपतिको भनाई छ ।

पशुपतिले लोकदोहोरीमा आफ्नो एक अलग, विशिष्ट पहिचान बनाएका छन् ।