एडल्ट चलचित्रमा ह्याट्रिक गर्ने पहिलो निर्देशक बन्दै उकेश दाहाल


ukesh

३० वर्षीय अविवाहित उकेश दाहाल दुई वर्षअघि ‘पलपलमा’ फिल्मबाटै सनसनीपूर्ण डेब्यु गरे, निर्देशनमा । ‘पलपलमा’ ले नेपाली फिल्म इतिहासमै पहिलो एडल्ट सर्टिफिकेट पाएको थियो । अहिले उनी ‘किन किन’ को अवधिबाटै चर्चामा रहे । छायांकनका बेला राजेश हमाललाई मोडल राखेर न्युड पेन्टिङ गर्ने कलाकारको चरित्रमा उतार्दा पछाडिको नग्न भागलाई क्यामेरामा कैद गराएकी नवनायिका अरुणिमा लामा पनि चर्चामा रहिन् । पछिल्लो समय नेपाली फिल्म भल्गर बन्दै गएकोमा चिन्ता व्यक्त भइरहेको बेला उकेश आफ्नो तेस्रो फिल्मले ‘झन् आगो बाल्ने’ दाबी गरिएको छ ।

निरन्तर एडल्ट कन्टेन्टमा फिल्म बनाउनुको मोह के हो ?

‘पलपलमा’ एडल्ट फिल्म थिएन । कलरफुल सिनेमा दिऊँ र बेग्लै परिचय बनाउ“m भन्ने सोचेर बनाएको थिएँ । त्यतिबेला हिरोलाई एक्सनमा नउतारिकन फिल्म चल्छ भन्नु मूर्खता जस्तै मानिन्थ्यो । आफ्नो पहिचान खोज्न बनाएको फिल्म थियो त्यो । तर सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दियो । जब कि अहिले हेर्दा पनि दर्शकलाई एडल्ट लाग्दैन । एडल्टको ट्याग लगाइदिएपछि चाहिं साँच्चिकै त्यस्तै फिल्म बनाउने सोच आयो, ‘किन किन’ बनाएँ । जब सरकारले नै एडल्टको ट्याग लगाइदियो, अब अझै अर्को पनि यस्तै कन्टेन्टमा फिल्म बनाएर ह्याटि्रक गर्ने सोचेको छु ।

‘पलपलमा’ बाट तपाइर्ंचाहिं के परिचय बनाउन चाहनुहुन्थ्यो ?

म त निर्माता/निर्देशकको नाताले एउटा गुड फिल्ममेकर बन्न चाहन्थें, चाहन्छु । सिनेमा स्टारडमले मात्रै चल्दैन । मेकिङका कारण पनि चल्न सक्छ । त्यसबेलाको माहौलमा राजेश दाइ -हमाल), विराज -भट्ट) जी, निखिल -उप्रेती) जी हुनुहुन्थ्यो । उहाँहरूकै बोलबाला थियो । तर म उनीहरूबिना र हिरोको एक्सन नै नराखी मैले काम गर्न सकें भने सिनेमा उद्योगमा मेरो परिचय बन्छ भन्ने थियो । केही हदसम्म पाएँ पनि । दोस्रो फिल्ममा स्वयं राजेश दाइ काम गर्न इच्छुक हुनुभयो । स्त्रिप्ट सुनाउँदा उहाँले उकेश तिमीले कलमले त उत्कृष्ट काम गरेछौ, अब सिनेमामा कस्तो निकाल्ने हौ भन्नुभयो । म भन्दिनँ टेक्लिकल्ली स्ट्रोङ फिल्म बनाउँछु, भन्छु- म कन्टेन्ट बेच्छु, कन्सेप्ट पस्कन्छु ।

सुरुकै फिल्ममा पनि तपाइर्को क्रिएटिभलाई कन्टेन्टले जित्यो भन्ने लाग्दैन ?

लाग्छ, चलेकै कन्टेन्टले हो । ‘पलपलमा’ भन्नेबित्तिकै रमित ढुंगाना वा दिलीप रायमाझी भनेर मान्छेले सम्झँदैन बरु नयाँ मान्छे उकेश दाहाल लाई नै सम्झन्छ ।

तर तपाइर्ले त प्रचार नै पहिलो एडल्ट फिल्म भनेर गर्न रुचाउनुभयो नि ?

अब त्योबेला टपलेसकै कारण पनि फिल्म चर्चामा थियो । सञ्चारकर्मीले पनि मसलाको रूपमा त्यसैलाई दिए । खासमा त फिल्म विदेश गएका पुरुष र यहाँ रहेका महिलाको विषयको कथा थियो । कथा अलिकति मजबुत थियो । सोचेको थिइनँ, एडल्ट पाऊला तर बोर्डले आफ्नो सेफ्टीका लागि दियो । केही हदसम्म त्यसले प्रमोसनको काम पनि गर्‍यो ।

टे्न्डभन्दा फरक बनाएर पृथक परिचय खोज्न आएको तपाइर्ं, सेन्सर बोर्डले पहिलोमा सेन्सरको ट्याग लगाइदियो भनेरै त्यतै कुद्ने अनि ह्याटि्रक नै गर्छु भन्नुले विरोधाभास लाग्दैन ?

कतिपय बेला एउटालाई अर्कोले पुर्ने पनि रहेछ । खासमा मेरो एडल्टको लागि संघर्ष पनि होइन । र, एडल्ट बनाउँदैमा नराम्रो मेकर भन्ने पनि होइन । फेरि म त रोमान्टिक कलरफुल सिनेमा बनाउन रुचाउने मान्छे । त्यो हिसाबले पनि मेरो झुकाव अलिकति यतातिर भयो कि भन्ने लागेको छ ।

एडल्ट कन्टेन्टमै फिल्म बनाउनुपर्ने कारण के हो ?

सुरुकै फिल्मलाई एडल्टको ट्याग लागेपछि मेरो परिचय नै त्यही जस्तो भयो । साथीभाइले पनि यसले त सेक्सी फिल्म बनाउँछ भनेर फुक्र्याए पनि । साथीभाइको फुक्र्याइको आवेशमा आएर पनि यस्तै बनाएँ कि भन्ने पनि लाग्छ । अब दुइटा त एडल्ट फिल्म बनाई नै हालें, अब अर्को पनि बनाएर ह्याटि्रक किन नगर्ने भन्ने सोचाइ छ । एक्सन फिल्मको क्रेजका बेला मैले ‘पलपलमा’ बनाएर नयाँ खालको आगो सल्काउन खोजेको हुँ । कति सफल/असफल भएँ छुट्याउने जिम्मा तपाईंहरूको । अब ह्याटि्रक गर्ने फिल्मको बेला पनि माहौल कस्तो हुन्छ ? तर म अरूले बनाएकोेमा नभई आफ्नै बाटोमा हिँड्ने मान्छे हो । म सेक्सुअलभन्दा पनि सेन्सुअल फिल्म बनाउन रुचाउँछु । पक्कै पनि त्यति बेला पनि म नयाँ आगो बाल्ने कोसिसमै हुन्छु ।

‘पलपलमा’ मा दुई पुरुष-वेश्याको कथा थियो भने किन किन’ मा त्यस्तो के छ ?

यसमा बुबा (राजेश हमाल) छोरा (राज तिमिल्सिना) को कथा लिएर आएको छु । कुनै उमेरमा आएपछि ती दुवै एउटै युवती -अरुणिमा लामा) प्रति आकषिर्त हुन पनि सक्छन् भन्ने मनोवैज्ञानिक तवरमा खेल्न खोजेको छु । २० वर्षको छोराको पनि सपना हुन्छ, ५० पुगेको बाबुको पनि । उमेर पार हुँदैमा सबै सपना पार हुन्छन् भन्ने हुँदैन । तर पूरा गर्ने प्रयासमा ५० को उमेरमा पनि गल्ती गर्न सक्छ । यौन मनोवैज्ञानिक हिसाबले केही नयाँ गर्न खोजेको हुँ । ‘अ लिटिल डग विथ लेडी’ भन्ने उपन्यासको केही लाइन फिल्ममा मिट गर्छ । म अरूको कपी गरेर फिल्म बनाउँदिनँ, आफ्नै बुद्धि खियाऊँ भन्ने लाग्छ ।

‘किन किन’ मा न्युड देखिनुपर्ने भन्दै नायिका खोज्न त राम्रै हल्लाखल्ला गर्नुभयो नि ?

उकेशले बनाउने फिल्म बढी सेक्सी हुन्छ भन्ने चर्चाले पनि यस्तो भयो के । खासमा त्यस्तो थिएन । म सेक्सभन्दा कन्टेन्ट बेचौं भन्ने मान्छे । सस्तो लोकपि्रयता चाहन्नँ । सेन्सुअल भए पनि वाह भन्ने होस् । नायिका खोज्ने बेलामा गाह्रोचाहिं भएको थियो । अरुणिमालाई पहिले ‘पलपलमा’ मै लिन खोजेको थिएँ तर समय मिलेन । उहाँको बोल्डनेसका कारण यसपालि चाहिं लिन पाएँ । स्त्रिmप्ट सुनाउनेबित्तिकै ओके गर्नुभयो ।

अबको ह्याटि्रक फिल्मको विषय कस्तो हुन्छ ?

मैले जति पनि फिल्म लेखें, बनाएँ । आफ्नै भोगाइलाई केही कल्पनाशिलता मिसाएर गरें । ‘पलपलमा’ को बेलामा म मामासँगै एउटा कोठामा बस्थें । त्यस्तै विषय समातें । त्यसपछि मेरो लभ पर्‍यो । अहिले ‘किन किन’ मा बढी प्रेमको पाटोलाई छोएको छु । अबचाहिं एरेन्ज कि लभ म्यारिज भन्नेबारेमा बताउँदै छु । मलाई एकदमै मज्जा आइरहेको छ फिल्म बनाउँदा ।