
काठमाडौं। ‘स्नो लियोपार्ड सिस्टर्स’ वृत्तचित्रको नेपाल प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनमा नेपालीसहित विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।
वृत्तचित्रले हिमालयको दुर्गम क्षेत्र डोल्पाका दुई आदिवासी महिलाबीचको असाधारण मित्रता र संघर्षको कथा प्रस्तुत गर्छ। स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई मार्गदर्शन गर्दै दुर्लभ हिमचितुवाको खोजीमा निस्किने यात्रालाई यसले देखाएको छ।
यस वृत्तचित्रलाई सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले संयुक्त रूपमा निर्देशन गरेका हुन्। चलचित्रले संरक्षण क्षेत्रमा महिला आवाजको शक्ति र समुदायस्तरमा गरिएका प्रयासलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
सिनेमाले हिमचितुवा संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनलाई जोड्ने पहललाई पनि देखाएको छ। विशेषगरी गोठालाहरूले प्रतिशोधस्वरूप गर्ने हिमचितुवा हत्या रोक्ने प्रयास र पशुधन सुरक्षाका नयाँ अहिंसात्मक उपायहरू वृत्तचित्रमा समेटिएका छन्।
यो परियोजना सुरुमा नेपाली फोटोग्राफर सोनम चोयकीले आफ्नी दिदी छिरिङ ल्हामु लामासँग मिलेर सुरु गरेकी थिइन्, जसले पछि वृत्तचित्रको रूप लिएको हो। त्यसपछि अन्तर्राष्ट्रिय टोली जोडिँदै यो निर्माण यात्रा तीन महादेशसम्म विस्तार भएको बताइएको छ।
वृत्तचित्रको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन् भने निर्माण इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले गरेका छन्। कार्यकारी निर्मातामा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो समेत रहेका छन्।
एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत भइसकेको यो वृत्तचित्रले नेपाल प्रिमियरमार्फत दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको छ।


