प्रियंका चोपडाको ‘द ब्लफ’ ट्रेलर सार्वजनिक, छोरीका लागि प्रियंकाको एक्सन


काठमाडौं। बलिउड हुँदै हलिउडमा स्थापित अभिनेत्री प्रियंका चोपडा जोनस अभिनीत फिल्म ‘द ब्लफ’ को ट्रेलर सार्वजनिक भएको छ। अमेजन प्राइम भिडिओको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब दुई मिनेट लामो ट्रेलरले प्रियंकालाई शक्तिशाली, आक्रामक र भावनात्मक एक्सन अवतारमा प्रस्तुत गरेको छ। ट्रेलरमा उनले आफ्नो छोरीको सुरक्षाका लागि ज्यानकै बाजी लगाउँदै लडिरहेको दृश्य देखिन्छ, जहाँ उनका दमदार एक्सन सिनहरू प्रमुख छन्।

फिल्ममा प्रियंकाले ‘ब्लडी मेरी’ भनेर चिनिने पूर्व समुद्री डाकुको भूमिका निर्वाह गरेकी छन्। कठोर र रफ लुकमा देखिएकी उनको पात्रको विगत फेरि सतहमा आउँछ, जसले उनलाई आफूले छोडिसकेको अँध्यारो जीवनसँग पुनः जुध्न बाध्य बनाउँछ। ट्रेलरमा उनको अभिनयले आक्रोश, पीडा र मातृत्वको गहिरो भावलाई प्रभावकारी रूपमा उजागर गरेको छ।

फ्र्याङ्क ई. फ्लावर्सको निर्देशनमा बनेको फिल्ममा प्रियंकासँगै अभिनेता कार्ल अर्बन पनि मुख्य भूमिकामा देखिएका छन्। अमेजन एमजीएम स्टुडियोजको ब्यानरमा निर्माण भएको यस फिल्मले समुद्री डाकुहरूको खतरनाक र रोमाञ्चक संसारलाई पर्दामा उतार्ने बताइएको छ।

फिल्म ‘द ब्लफ’ आगामी फेब्रुअरी २५ मा प्राइम भिडिओमार्फत विश्वव्यापी रूपमा प्रिमियर हुने तय गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.