‘पञ्चायत’ फागुन २५ मा भिआईपी (प्रिमियर) शो हुँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

यतिखेर चर्चाको शिखरमा छ चलचित्र पञ्चायत । एक त रिलिज डेट चैत २ नजिकिंदै छ भने अर्काे यही फागुन २५ गते भिआईपी(प्रिमियर) शो हुँदै छ । त्यसैले पनि चलचित्रको चर्चा हुनु स्वभाविक हो ।तर किन नेपालका मुख्य राजनीतिज्ञहरुलाई चलचित्र देखाउने तयारीमा निर्माताहरु लागेका हुन् ? यो भने आम दर्शकको चासोको विषय छ ।

चलचित्रका प्रस्तुतकर्ता गणेश गिरी एउटा कालखण्डको सामाजिक न्याय र व्यवस्था कस्तो थियो भन्ने देखाउन ‘पंचायत’लाई राजनीतिज्ञबीच भिआईपी सो गर्न लागेको बताउँछन् ।त्यसो त २०३१ सालतिरको एउटा गाउँको कथा पंचायतले बोल्छ । त्यो बेलाको पंचायती शासनमा गाउँमा सबैले मान्ने मुखियाको न्याय निसाफमा चलचित्र केन्द्रित छ ।

अनि सामाजिक विषयबस्तु, पहिलो महिनावारी हुँदाको महिलाका अबस्था तथा अन्य सामाजिक रीतिथिति र संस्कृतिलाई पंचायतले उजिल्याउन खोजेको छ । गिरीका अनुसार मुख्यगरी राजनीतिक नेताहरुले हेरे भने चलचित्र उद्योगको विकासमा पनि सहयोग पुग्छ भन्ने पनि अर्काे उद्देश्य हो ।

अमेरिकामा २१७ वटा चलचित्र मध्ये उत्कृष्ट चलचित्र अर्वाड र उत्कृष्ट नायिकाको अवार्ड पाएकाले पनि यो चलचित्र ऐतिहासिक हो भनेर भन्न सकिन्छ । झोलापछिको सामाजिक विषय समेटिएको यो चलचित्रले कमेडियन फिल्म निर्माणको क्रम चलिरहेका बेलो एउटा क्रम भंग गर्नेमा विश्वस्त छन् निर्माताहरु

चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी विशिष्ट राजनीतिक नेताहरुलाई भेटेर भिआईपी सोमा सहभागि हुन गरेको निमन्त्रणामा उनीहरुले कथावस्तु मन पर्यो भनेर हेर्न आउने प्रतिबद्धता समेत जनाईसकेको बताउँछन् ।

मुख्यगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले समय दिइसकेका छन् ।

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, अन्य एमाले नेताहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अन्य माओवादी नेताहरु जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन अनन्त, ओनसरी घर्ती मगर समेत चलचित्र हेर्न आउँदै छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, वातावरण मन्त्री लालबाबु पंडितले समेत चलचित्र हेर्न आउने प्रतिबद्धता जनाईसकेका छन् । काँग्रेस नेताहरु विमलेन्द्र निधि, डा प्रकाशशरण महत, मिनेन्द्र रिजाल, गगन थापा,उमा अधिकारी रेग्मी ,ले पनि चलचित्र हेर्ने ईच्छा प्रकट गरेका छन् ।

यही २५ गते काठमाडौको कुमारी हलमा हुने प्रिमियर शो मा विशिष्ट नेताहरु बीच चलचित्र देखाउँदा चलचित्र क्षेत्रको विकासमा सहयोग पुग्ने आशा गरेको निर्माता शुशान्त श्रेष्ठ बताउँछन् ।

यही २४ गते उक्त चलचित्रको हेटौंडामा च्यारिटी शो समेत राखिएको छ । यसअघि अमेरिका, चितवन लगायत विभिन्न स्थानमा च्यारिटी शो गरिएको उक्त चलचित्र जापान,हंगकंग,कोरिया ,यूरोप लगायत देशमा पनि प्रदर्शनको तयारी छ ।

लेखक तथा निर्देशक शिवम अधिकारी सात वर्षको अथक प्रयासपछि एउटा ऐतिहासिक र समाजिक विषय बोकेर चलचित्र पंचायत आएको भन्दै एकपटक चलचित्र हेर्न दर्शकलाई आग्रह गर्नुभयो । सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ। शुसान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन्।