चलचित्र ‘मन्दिरा’ को पोस्टर सार्वजनिक, असार २ गते देखि रिलिज हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कथानक चलचित्र ‘मन्दिरा’ आउँदो असार २ गते देखि रिलिज हुने भएको छ । राजधानीमा सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि ‘मन्दिरा’को फस्ट लुक र रिलिज मिति सार्वजनिक गरिएको हो ।

दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र सस्पेनस ड्रामा रहेको निर्देशक सापकोटाले बताए । चलचित्र कुनै पनि लोकेसनमा नभइ एकै घरबाट सुरु भइ एकै घरको कोठामा सकाइएको सापकोटाले बताए । चलचित्रलाई आफुले सकेसम्म उत्कृष्ण बनाउने कोशिस गरेको दावी गर्दै निर्देशक सापकोटाले सबैलाई हलमा गएर चलचित्र हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन आग्रह गरे ।

चलचित्रको बारेमा बोल्दै निर्माता निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथि आकाश अधिकारीले नवकलाकार नै भोलीको पुरानो अर्थात पाको कलाकार हुने भएकाले सबैले नवकलाकारको कलालाई हेरेर हौसला दिन अग्रह गरे । अधिकारीले नेपाली चलचित्रको वृद्धि र विकासका लागी सबै एक भएर लाग्नु पर्ने समेत बताए ।

चलचित्रलाई करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका हुन । चलचित्रको लागि संगीत देव कोइमी राई र शब्द दयाराम पाण्डेले दिएका छन् ।

चलचित्रमा नरेन खड्का, जेबी डिसी, प्रभान भुसाल, लक्ष्मी बस्नेत, बिनि पोखरेली, विनिता ओलीको अभिनय रहेको छ । कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदय, कलाकार, संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।