नेपालमा पनि टिकटकबाट पैसा कमाउन सकिने



काठमाडौँ। नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव पैसा कमाई हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थालेको छ। टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि http://releasenepal.com/tiktok/ लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासुले जानकारी दिए ।

भासुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”

मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ । रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले रिलिजनेपाल सँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।