बैंकिङ कसुरमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ



काठमाडौं । प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।

२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताए । शिशिर राणा दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । ‘तिमीसँग’ र ‘पोई पर्‍यो काले’ गरी दुईचलचित्रको निर्देशन गरिसकेका उनले ‘अन्दाज, वडा नम्बर छ, क्लासिक, वीर विक्रम, कायरा, रामकहानी’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । ‘माला’ नामक चलचित्रको निर्माण समेत गरेका उनी लकडाउन अगाडि अभिनेता दिक्पाल कार्कीलाई लिएर नयाँ चलचित्र बनाउने तयारीमा थिए ।