भुवनको ‘साईनो’हेर्न उप–प्रधानमन्त्रीदेखि दीपाश्रीसम्म, अरु को–को पुगे हल ?


सेलिब्रेटी नेपाल

काठमाडौं: नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दको निर्माण रहेको चलचित्र ‘साईनो’को प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीमा विशेष शो आयोजना गरियो कुमारी हलमा आयोजित विशेष शोमा मन्त्रीदेखि कलाकार तथा सञ्चारकर्मीहरुले चलचित्र हेरे ।

चलचित्र हेर्न उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हल पुगेका थिए । भुवन थापा चन्दको आग्रहमा हल पुगेका उनले ‘साईनो’ सामाजिक समस्यामा केन्द्रित राम्रो चलचित्र बनेको बताए । ‘चलचित्र हेर्न मन लागेपनि त्यति अवसर पाइँदैन् । आज भुवन दिदीले विशेष आग्रह गरेपछि नआउन सकिन्’ उनले भने –‘सामाजिक समस्यामा केन्द्रित रहेर एउटा राम्रो चलचित्र बनेको छ । समाजमा देखा परेका अन्य विविध समस्याका पक्षलाई पनि उठान गर्नुहोला । म शुभकामना दिन्छु ।’

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले ‘साईनो’लाई एउटा अग्र्यानिक चलचित्र बनेको बताए । उनले भने, –‘चलचित्रले उठाएको विषयवस्तु आफैमा राम्रो छ । समग्रमा यसलाई एउटा राम्रो अर्गानिक चलचित्र भन्न सकिन्छ ।’ त्यस्तै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सबै कलाकारहरुको काम राम्रो रहेको बताईन् । निर्माता तथा कलाकार नवल खड्काले पनि सामाजिक विषयवस्तुमा राम्रो चलचित्र बनेको बताए ।

चलचित्रकी प्रस्तुतकर्ता भुवन थापा चन्दले आफूले विशुद्ध नेपाली चलचित्र बनाएको बताइन् । ‘सामाजिक विषयवस्तुमा सबै जना बसेर हेर्न मिल्ने पारिवारिक चलचित्र बनाएकी छु । सबैले रुचाउनुहुनेछ भन्ने अपेक्षा लिएकी छु’–भुवनले भनिन् । निर्देशक रमेश थापाले चलचित्र निर्माणमा लामो समयको मेहनत लागेको बताउँदै आफू त्यसमा सफल रहेको बताए । विशेष शोमा कलाकार मिरुना मगर, राजकुमार, रोयदीप श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, श्याम राई लगायतले चलचित्र हेरेका थिए ।