अवार्ड पाउँदा झन् तनाव


सेलिब्रेटी नेपाल काठमाडौँ
अधिकांश फिल्म अवार्ड विवादमुक्त छैनन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद । यस पटक दुबईमा आयोजित नवौं नेफ्टा अवार्डमा भने फरक खालको विवाद निम्तियो । स्वयं अवार्ड पाउनेले नै ‘मलाई किन अवार्ड ?’ भन्न थालपछि नयाँ खाले बहसको थालनी भएको छ ।
nefta-award-dubai
अल नासर लिजरल्यान्डको भव्य स्टेजबाट नेफ्टा अवार्डको अन्तिम विधाका रूपमा उत्कृष्ट फिल्मका रूपमा ‘पशुपति प्रसाद’ को नाम घोषणा भयो । सबैले ताली बजाए । छेवैमा बसेकाले फिल्मका निर्मातासमेत रहेका निर्देशक दीपेन्द्र के खनाललाई बधाई दिए । तर दीपेन्द्र ट्रफी लिन स्टेज चढेनन् । केही क्षणको सन्नाटापछि दीपकराज गिरी दौडिँदै गए, ट्रफी लिइदिए र दीपेन्द्रसमक्ष आएर दिए । तैपनि उनले लिएनन् ।

‘मैले यो अवार्ड स्वीकार गर्न सक्दिनँ,’ दीपेन्द्रले प्रस्टै भनिदिए, ‘मेरो फिल्म उत्कृष्ट हुन लायक देखिएन । त्यसैले यो अवार्ड लिन मलाई लाज हुन्छ ।’

धेरैले उनलाई निर्देशनको अवार्ड ‘वडा नम्बर छ’ निर्देशक उज्ज्वल घिमिरेका लागि गुमाउनुपर्दाको रिस पोखेको आरोप पनि लगाए । तर दीपेन्द्रको तर्क केही फरक छ । ‘लेखन, अभिनय र प्राविधिक पक्षका महत्त्वपूर्ण विधामा उत्कृष्ट नभएको फिल्म कसरी उत्कृष्ट हुन सक्छ ?’ दीपेन्द्रले उल्टै प्रश्न गरे र यसले जुरीप्रति कटाक्ष गरिरहेको थियो । हुन पनि ‘पशुपति प्रसाद’ ले पपुलरसहितका ३१ विधामध्ये खलपात्र, सहअभिनेता र संवादमा मात्र अवार्ड जितेको थियो । दीपेन्द्रले ससम्मान अवार्ड ट्रफी नेफ्टालाई नै फिर्ता गरिदिएको बताए ।

नेफ्टा अवार्डका जुरी संयोजक भरत शाक्यले दीपेन्द्रले अहं देखाएको तर्क गरे । भने, ‘अवार्ड नै लिन्न भन्नु उनको अहं हो । नत्र आफैं निर्णायक बसे भइहाल्यो नि ।’

निर्णयको सम्पूर्ण नैतिक जिम्मेवारी आफैंले लिएको बताए पनि संयोजक शाक्यले व्यक्तिगत रूपमा आफूलाई पनि कतिपय निर्णयमा चित्त नबुझेको स्वीकार गर्दै थपे, ‘नोमिनेसनदेखि नै पनि चित्त बुझेको थिएन । नोमिनेसन र अहिले अवार्ड हेर्दा कन्ट्रोभर्सी देखिन्छ ।’

त्यसो त शाक्य पाँच सदस्यीय निर्णायक मण्डलमा आफ्ना मत अल्पमतमा पर्न थालेपछि असन्तुष्ट थिए । ‘साँच्चै भन्ने हो भने केही विधामा उत्कृष्ट हुनेको नाम सुनेपछि म आफैं चकित परेको थिएँ,’ उनको दुखेसो रहयो, ‘प्रजातान्त्रिक अभ्यासमा बहुमत जुरीले भनेको कुरा नाइँ भन्न सकिनँ ।’

अवार्ड वितरण हुँदै गर्दा उत्कृष्टको नाम भएका बन्दखाम नै हठात् साटिएका सम्मका अपुष्ट खबर आइरहे । ‘म त अवार्डको बीचबाटै उठेर हिँडें,’ जुरी संयोजक शाक्यले कान्तिपुरसँग भने, ‘हेर्नै सकिनँ । अरू नै नाम आउन थालेपछि मैले जुरीका अरू साथीलाई पनि निस्कौं भनें । तर उहाँहरू आउनुभएन ।’

खास गरी उत्कृष्ट जनजाति फिल्ममा ‘तिमी नभए’ लाई ट्रफी दिइएकामा जुरी असन्तुष्ट देखिन्थ्यो । शाक्यले आयोजकबाटै जुरीलाई निर्णय फेरबदलका लागि दबाब आएकोसम्म आरोप लगाए । भने, ‘हामी जुरीले विधागत उत्कृष्टको नाम निश्चित गरेको आधा घन्टा नहुँदै त्यसको सट्टा यसलाई राख्नुपर्‍यो भन्दै आयोजक आएका थिए ।’

झन्डै १ सय २० कलाकर्मी र सञ्चारकर्मीलाई दुबई उतारेर नेफ्टाले चारतारे होटलमा सत्कार गरेको थियो । व्यवस्थापन उत्कृष्ट हुँदाहुँदै पनि अवार्ड सबैलाई बाँड्न खोज्दा नै विवादित बनेको धेरैको आरोप थियो । ‘हामीलाई के पच्थ्यो त्यो भव्यता र शिष्टता ? विवादै विवाद, तनावै तनाव,’ अभिनेता दीपकराज गिरीले निर्णायकमा रहेका पाँच सदस्यलाई लक्षित गर्दै भने, ‘यी पाँच जनालाई एउटा तालिमको व्यवस्था मिलाइदिऔँ । बेस्ट डाइरेक्टर हुनलाई एकदुइटा अरू अवार्ड दिनुपथ्र्यो । अनि सबै विधामा हार्ने फिल्म चाहिँ कसरी बेस्ट फिल्म हुन्छ ?’
दीपककै फिल्म ‘वडा नम्बर छ’ बाट निर्देशनमा उज्ज्वल घिमिरेले अवार्ड जित्दा फिल्मले कला र संगीत संयोजनमा मात्रै अवार्ड जितेको थियो । उनले भने, ‘उत्कृष्ट निर्देशकको अवार्ड दिइसकेपछि त्यसलाई पुष्टि गर्ने गरी अरू विधामा पनि त उत्कृष्ट हुनुपथ्र्यो होला नि ।’

नेफ्टाको व्यवस्थापनको जिम्मेवारी दुबईकै स्पेक्ट्रम एडभर्टाइजिङ एन्ड मिडिया र कन्सेप्ट भिजन फिल्म्सले सम्हालेका थिए । पाहुनालाई लिफ्टबाट स्टेज चढाउनु, भव्य लाइटिङले स्टेज सजाउनु यसअघि भएका नेपाली फिल्म अवार्डमा देखिएभन्दा फरक अनुभव थिए । राजेश हमाल, करिश्मा मानन्धर लगायतका फिल्मकर्मीको सहभागितासँगै नृत्य प्रस्तुतिले चम्काएको नवौं नेफ्टा अवार्डलाई अवार्डमा देखिएको वितरण शैलीले भने छायामा पारिदियो । दीपेन्द्र अबउप्रान्त राष्ट्रिय अवार्डबाहेक व्यक्तिगत रूपमा आयोजना हुने कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने निर्णयमा पुगेका छन् भने दीपक पनि फिल्म मात्रै सहभागी गराउने तर आफू उपस्थित नहुने निष्कर्षमा पुगेका छन् । यता, भरत शाक्यले भने नेफ्टा अध्यक्ष पुष्कर लामालाई ठाडै भनिदिए रे, ‘अबदेखि नेफ्टाको तर्फबाट मलाई सम्पर्क नगर्नुहोला ।’

सुशील पौडेल कान्तिपुर बाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.