नेक्स्ट मोडल्सद्वारा ‘मिस नेपाल पिस’ को नयाँ संस्करण घोषणा, डिसेम्बर २० बाट अडिसन


काठमाडौँ । नर्सहरूको नेतृत्व क्षमता विकास गर्दै व्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’ प्रतियोगिताको नयाँ संस्करण सुरु गरिएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

केही समयदेखि खुला गरिएको आवेदनअनुसार प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमार्फत उपलब्ध रहेको छ । अडिसनको समय र स्थानबारे भने केही दिनभित्र जानकारी दिने आयोजकले जनाएको छ ।

एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेको यस प्रतियोगितामा शीर्ष विजेताले नगद एक लाख रुपैयाँका साथै थाइल्याण्डमा सन् २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वर्ल्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । साथै, पाँच लाख रुपैयाँ बराबरका विभिन्न उपहार पनि जित्न सक्नेछन् ।

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको ‘मिस नेपाल पिस’ नर्सहरूको मात्र सहभागिता रहने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरू यसमा सहभागी हुन सक्नेछन् । छनोट चरणबाट छानिएका प्रतियोगीहरूलाई विभिन्न तालिम तथा प्रशिक्षण दिएर अन्तिम प्रतिस्पर्धाका लागि तयार पारिने आयोजकले जनाएको छ ।

आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रारम्भिक चरणमै देशभरका करिब चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध युवतीहरूलाई पेसा र समाजप्रति थप जिम्मेवार बनाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।

प्रतियोगिताका अन्तिम चरणका प्रतिस्पर्धीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा विशेष प्रशिक्षण दिइने नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा पनि विजेता चयन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.