
काठमाडौं । गायक तथा सर्जक सन्तोष खत्रीले आफ्नो संगीत यात्राबाट विदा लिने निर्णय सार्वजनिक गरेका छन्। “धेरै सपना गीतमै गुमे…” भन्ने भावनासहित उनले करिब ६ वर्षसम्मको निरन्तर प्रयासपछि अपेक्षित सफलता नपाएपछि संगीतबाट टाढा हुने कठोर निर्णय लिएका हुन्।
सानैदेखि संगीतप्रति गहिरो लगाव राख्ने खत्री अरूले गाएको गीत सुन्दा सधैं “म पनि यस्तै गीत गाउन पाएँ कस्तो हुन्थ्यो होला?” भन्ने कल्पनामा डुब्थे। यही सपनाले उनलाई गीत लेख्न, स्वर चिनाउन र अन्ततः संगीतको यात्रामा अघि बढायो।
उनको औपचारिक संगीत यात्रा ‘दिनमै नशा’ गीतबाट सुरु भएको थियो। पहिलो गीत युट्युबमा सार्वजनिक गर्दा उनलाई आफ्नो यात्रा अब अघि बढ्ने विश्वास थियो। तर अपेक्षा गरेजस्तो सफलता हात परेन। न त ठूलो लगानी थियो, न त चर्चित कलाकारको साथ थियो त केवल परिवारको हौसला, सीमित साधन र अथाह आशा।
यही आशाका साथ खत्रीले पछिल्ला ६ वर्षमा २० भन्दा बढी गीत सार्वजनिक गरे। ‘१५ हजार’, ‘अब क्यार्नी हो’, ‘मायालुका यादैले’, ‘ए आमा’, ‘दुई मुठी सास’, ‘म दुःखी प्रदेशी’, ‘मुना मदन जस्तै’, ‘पैसा’, ‘हाम्रो कालापानी’ लगायत उनका चर्चित सिर्जनाहरू हुन्। तर उनी खुलेर स्वीकार्छन् यी गीतहरूले दर्शक–श्रोताको मन छुन सकेनन्।
“सत्य लुकाएर बस्न चाहन्नँ,” खत्री भन्छन्, “मैले धेरै मिहिनेत गरेँ, तर मेरा गीतहरू श्रोताको मनमा बस्न सकेनन्। सायद म राम्रो प्रयासकर्ता थिएँ, तर सफल कलाकार बन्न सकिनँ।” उनका अनुसार यो निर्णय कुनै रिस वा घमण्डबाट होइन, हार स्वीकार्दै इज्जतका साथ लिएको कदम हो।
संगीतबाट पूर्ण रूपमा विदा हुनु अघि खत्रीले एउटा अन्तिम भजन सार्वजनिक गर्ने घोषणा गरेका छन्। सो भजन सार्वजनिक गरेपछि उनी गीत–संगीतबाट सधैंका लागि संन्यास लिनेछन्। उनका लागि त्यो भजन केवल एउटा गीत होइन, बरु सपना, संघर्ष, आँसु र हारले भरिएको सम्पूर्ण यात्राको अन्तिम स्वीकारोक्ति हुनेछ।
निर्णय कठिन भए पनि दृढ छ। संगीतले दिएको अनुभव र पाठप्रति कृतज्ञता व्यक्त गर्दै खत्री भन्छन्, “गीतले मलाई धेरै सिकायो, तर मैले गीतलाई जिताउन सकिनँ। आज हार स्वीकारेर विदा हुँदैछु,यही नै मेरो सबैभन्दा ठूलो सत्य हो।”
एक कलाकारको यात्रा यहाँ टुंगिएको छ, तर उनको संघर्ष र इमानदार स्वीकारोक्ति धेरैका लागि प्रेरणाको कथा बनेर रहनेछ।

