
काठमाडौं । चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरुलाई देख्न सकिन्छ ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।
विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् ।
लेखक तथा निर्देशक उप्रेतीका अनुसार फिल्मले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा देखाउनेछ । यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । फिल्मले बुङमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्री लगायतका विभिन्न समुदायबीचको सह–अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पर्दामा देखाउने फिल्मका प्रस्तुतकर्ता विश्वराम बिष्टले बताए ।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल रहेको छ ।


