एघार वटा मौलिक तीज गीत सामूहिक विमोचन


काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर एघार वटा मौलिक गीत एकै पटक सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा एघार वटै गीतका सर्जकको उपस्थितीमा सामूहिक विमोचन गरिएको हो ।

राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय साँस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले मौलिकपनले भरिएका गीत सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए । साथै साँस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव गीतमा अटाउनुपर्ने धारणा राखे । सस्तो लोकप्रियता तर्फ नलाग्न सम्पुर्ण कलाकर्मीहरूलाई आग्रह गरे ।

कार्यक्रममा सार्वजनिक एघार वटा मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा काली पसम की, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा सीताका माईती, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा बाबाको आँगनी, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा सारी लरक्कै, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा फेरी आयो तीज, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा कालो कपाल पारेर फरर, उमा श्रेष्ठको स्वरमा मैदानैमा ताल, सुनिता बुढा क्षेत्रीको स्वरमा चेलीलाई माइती, सरस्वती लामिछानेको स्वरमा सैनाले दिएको ऐना, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा म राम्रो कि उ राम्रो भन्देऊ र शान्तिश्री परियारको स्वरमा यसपालीको तीज रमाइलो रहेका छन् ।

कार्यक्रमका सभापति राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सामूहिक रुपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकलाई बधाई दिए । साथै उनले गीत संगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘हामीले संस्कृति र संस्कारलाई भुलेनौं भने मौलिकता बच्नेछ ।’ अध्यक्ष गौतमले भने, ‘भोलीका दिनमा यस्ता किसिमका कार्यक्रमलाई हामीले विशेष स्थान दिनेछौं ।’

कार्यक्रममा बिशिष्ट अतिथि तथा वरिष्ठ गायक साँस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आएको बारे निकै सुनिरहेको तर बिकृती गीतमा मात्रै हैन संस्कृतिमै रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए ।

यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ बर्ष अगाडी गाएको गीतलाई स्मरण गर्दै अहिले आईरहेका गीतमाथी विमर्श गरिन् । यस्तै वरिष्ठ गायिका शर्मिला गुरुङले पछिल्लो समय तीज गीतका नाममा जथाभावि प्रकारका गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त गरिन् ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतहरुलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सन्चारकर्मीले गरेको बताइन् । कलाकारसँगै सन्चारकर्मीले यसरी नै आफ्नो कर्म नभुल्न अनुरोध गरिन् । ‘तीजमा भड्कीलो गीत गाउनेहरुलाई मिडियाले खबरदारी गरिरहने हो भने त्यस्ता गीत गाउनेहरु बिस्थापित हुनेछन् ।’

राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैँ आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आवश्यक रहेको बताए । पुर्खाहरुले बचाएको संस्कृतिलाई यो पुस्ताले जोगाउनु पर्ने धारणा उनले राखे । ‘अहिले तीजको नाम दिएर सार्वजनिक भएका गीत अंग्रेजी गीत जस्ता छन् । त्यस्ता गीतले कसरी मौलिकतालाई बचाउँछन् होला र ?’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.