बटरफ्लाई फिल्म्सले ल्यायो ‘ब्ल्याकपिंक’ को कन्सर्ट फिल्म


काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’का नेपाली फ्यानलाई खुसीको खबर छ । ब्याण्ड स्थापनाको आठौं वर्षगाँठको सन्दर्भमा ब्याण्डको कन्सर्ट फिल्म ‘ब्ल्याकपिंक्स वर्ल्ड टुर : बर्न पिंक’ आगामी शुक्रबार अर्थात साउन ३२ गते नेपालमा रिलिज हुने भएको छ ।

फिल्मको नेपाल वितरण कम्पनी बटरफ्लाई फिल्म्सले विज्ञप्ति जारी गर्दै नेपालका सीमित हलमा यसलाई रिलिज गरिने जनाएको छ । बिजुली झैं तीव्र गतिको डान्स र ट्रयाकबाट फ्यानको मन जित्दै आएको ब्याण्डको यो फिल्मले नेपाली प्रशंसकको मन जित्न सक्ने अपेक्षा वितरकको छ ।

९३ मिनेट रनटाइमको यो फिल्मलाई मिन गेउन र ओह यून-डोंगले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा ब्याण्डका सदस्यहरु किम जिसु, जेनी किम, ललिसा मनोबन, रोजेन पार्कलाई चित्रण गरिएको छ ।

सन् २०२२ मा रिलिज भएको दोस्रो एल्बम ‘बर्न पिंक’को सांगीतिक टुर ‘द बर्न पिंक वर्ल्ड टुर’मा यो फिल्म आधारित छ । त्यतिबेला अस्ट्रेलिया, एसिया, युरोप र उत्तर अमेरिका लगायतका २२ मुलुकमा ६६ कन्सर्ट आयोजना गरिएका थिए । सन् २०२३ को बिलबोर्डअनुसार उक्त कन्सर्टले १४८.३ मिलियन डलरको कमाइ गरेको थियो ।