मगर समुदायको कथा सिनेमा ‘घरज्वाइँ’


काठमाडौँ। केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा ‘गाउँ आएको बाटो’ले राई समुदायको कथा भनेको थियो । उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा ‘नुमाफुङ’ले लिम्बु जातिको कथा भनेको थियो ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको सिनेमा ‘जारी’ले पनि लिम्बु कल्चरको कथा भनेको थियो । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाकै निर्देशन रहेको सिनेमा ‘मनसरा’ले पनि लिम्बु समुदायको कथा भनेको थियो । ‘कबड्डी’ सिरिज लगातार एउटा जातीको कथा भनिरहेको छ, जुन मुस्ताङ र आसपासमा बस्दै आएको छ । यसको अर्थ हो । सिनेमा मार्फत बहुजाति र संस्कृतिको कथा आइरहेको छ । विभिन्न क्षेत्र र समुदायको कथा आइरहेको छ ।

सिनेमाका लेखक, निर्माता तथा निर्देशकले बहुलभाषी, बहुलजाति र बहुल संस्कृति सिनेमामार्फत आम दर्शकलाई देखाइरहेका छन् । पूर्वी नेपालमा विभिन्न क्षेत्र र समुदायका कथा आए पनि पश्चिम नेपालको कला, संस्कृति र जातिको कथा भने कमै आएका छन् । तर, अब विस्तारै आउन थालेका छन् ।

पश्चिम नेपालको मगर समुदायको कथा सिनेमा ‘घरज्वाइँ’ले लिएर आउँदैछ । ठाउँ अनुसार जातीको संस्कृति पनि फरक हुन्छ । त्यसैले पश्चिम नेपालको मगर समुदायको कल्चर कस्तो छ भन्ने ‘घरज्वाइँ’ले भन्नेछ । वास्तवमा सिनेमा भनेको कला, संस्कृति संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने मध्यम पनि हो । त्यसैलाई हृदयङमन गर्दै ‘घरज्वाइँ’ले मगर समुदायको संस्कृतिको कथा भन्नेछ ।

मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने अथवा बस्ने चलन छ । यही कथा यो सिनेमाले भन्नेछ । छोरीका लागि ज्वाइँ योग्य छ कि छैन भन्ने थाहा पाउन घरज्वाइँ राख्ने अथवा बस्नुपर्ने यो समुदायको सस्कार हो । यो संस्कार सिनेमामार्फत आउनेछ । केही दिन अगाडि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो सिनेमाका मुख्य कलाकार दयाहाङ राईले आफूले सिनेमा ‘घरज्वाइँ’मार्फत नयाँ कुरा जान्ने अवसर पाएको बताएका थिए ।

‘हामी प्रायः बुहारीमा यस्तो अथवा त्यस्तो अर्थात् राम्रो गुण होस् भन्ने सोच्छौँ । हाम्रो नेपाली समुदायमा धेरैले सोच्ने पनि यही नै हो । तर मगर समुदायमा अर्कै चलन रहेछ,’ दयाहाङले भने, ‘छोरी पाल्न सक्ने अथवा घरजम गरेर बस्नसक्ने क्षमता छ कि छैन भनेर घरज्वाइँ राख्ने चलन रहेछ । जुन मलाई पनि थाहा थिएन ।’

‘घरज्वाइँ’ सिनेमामार्फत मगर समुदायको संस्कृति पनि बुझ्ने अवसर पाएको बताए । आम नेपाली समुदायले परम्परागत रुपमा सोचेभन्दा फरक कथा ‘घरज्वाइँ’मार्फत देख्न र बुझ्न पाइने उनले बताए । सिनेमाको सुन्दरता नै यही भएको उनले बताए ।

वास्तवमा सिनेमाको सुन्दर पक्ष पनि समाजका विविध कला, संस्कृति आम दर्शकमाझ पुर्याउनु हो । लुकेर रहेका कथा र संस्कृतिलाई उजार गर्दै त्यसको संरक्षण, सम्बर्द्धन गर्नु हो । संयोग भनौं वा जे सुकै । विभिन्न जाति वा संस्कृतिका कथा भन्ने सिनेमामा काम गर्ने मौका भने दयाहाङ राईले पाइरहेका छन् । मगर समुदाय होस् वा लिम्बु वा राई सबै सिनेमामा काम गर्ने अवसर दयाहाङले पाइरहेका छन् ।

‘गाउँ आएको बाटो’, ‘जारी’, ‘मनसरा’देखि ‘घरज्वाइँ’मा पनि दयाहाङले काम गरेका छन् । उनी सँगै ‘जारी’, ‘मनसरा’देखि ‘घरज्वाइँ’मा मिरुना मगरले काम गरेकी छन् ।

निर्देशक अनिल बुढा मगरले आफूले माटोको कथा भन्ने प्रयास गरेको बताएका छन् । माटोको सुगन्ध सिनेमामा झल्किनुपर्ने र संस्कृतिको जगमा सिनेमा बन्नुपर्ने भन्दै यही मान्यतालाई आफूले ‘घरज्वाइँ’मा अबलम्बन गरेको बताएका छन् ।

संयोग भनौं वा सिनेमाको अब्बल पक्ष । कुनै जातिको संस्कृतिमा केन्द्रित कथामा बनेका यी सिनेमा दर्शकले मन पराएका छन् । ‘घरज्वाइँ’को ट्रेलरलाई पनि सकारात्मक प्रतिक्रिया मिलेको छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।

एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।