गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब पाउन्ड बढ्ने


एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो ।

बैंकले गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको टुरमा बेलायतमा करिब १२ लाख फ्यानहरूमध्ये हरेकले औसतमा ८४८ पाउन्ड खर्च गर्नेछन् ।

यो रकम टुरमा गायिकाको प्रदर्शन हेर्नका लागि टिकट, यात्रा, बसोबासलगायतमा खर्च हुने बताइएको छ । बेलायतमा स्विफ्टले १५ भन्दा धेरै ओटा कन्सर्ट गर्दैछिन् । यसको अर्थ उनको टुरले बेलायती अर्थतन्त्रमा १ अर्ब ३० करोड डलर (करिब १ अर्ब पाउन्ड) को योगदान दिनेछ । यो रकम बेलायतीहरूले हरेक रात घरबाहिर बिताउँदा गर्ने औसत खर्चभन्दा १२ गुणा बढी भएको बार्कलेजले बताएको छ ।

टेलर स्विफ्टको कन्सर्टले अर्थतन्त्रमा यति ठुलो योगदान दिने अपेक्षा गरिएको यो पहिलो पटक होइन । यो वर्षको सुरुमा जापानमा भएको उनको कन्सर्टले अर्थतन्त्रमा २२ करोड ८० लाख डलरको योगदान दिने अनुमान गरिएको थियो । ६ महिनासम्म चलेको स्विफ्टको कन्सर्टले गएको वर्ष अमेरिकी अर्थतन्त्रलाई ४ अर्ब ६० करोड डलरले बढाएको तथ्याङ्क बाहिरिएको थियो ।