
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’ प्रति दर्शकको उत्साह उल्लेख्य रूपमा बढ्दै गएको छ। साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक भएको एक सातामै व्यापक चर्चा बटुल्दै मुभी ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।
ट्रेलरले हालसम्म ७ लाख ३० हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। सामाजिक सञ्जालमा प्राप्त सकारात्मक प्रतिक्रियाले पनि चलचित्रप्रति दर्शकको अपेक्षा बढेको देखिन्छ।
‘गौँथली’ नाम नेपाली चलचित्र इतिहाससँग पनि जोडिएको छ। करिब दुई दशकअघि डा. भोला रिजालले यही नाममा चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो गीति (म्युजिकल) चलचित्र मानिन्छ। उक्त चलचित्रले प्रदर्शनको ५१औँ दिनसम्म सफल प्रदर्शन गरेको थियो। अहिले त्यही नामलाई नयाँ पुस्तासामु पुनः प्रस्तुत गर्दै उनका छोरा डा. कपिल रिजालले नयाँ कथावस्तुसहित ‘गौँथली’ निर्देशन गरेका हुन्।
सार्वजनिक ट्रेलरले ग्रामीण परिवेशमा हुर्किएकी एक युवती गौँथली (सिम्रन खड्का) को शिक्षा प्राप्त गर्ने सपना र त्यसका लागि उनले भोग्नुपरेका सामाजिक तथा पारिवारिक संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। पढाइमा अब्बल गौँथलीलाई उनका शिक्षकले ठूलो सपना देख्छन्, तर पारिवारिक बाध्यताका कारण उनको बालविवाह हुन्छ र त्यसपछि जीवनले नयाँ मोड लिन्छ।
विवाहपछि पनि पढाइलाई निरन्तरता दिन चाहने गौँथलीको संघर्ष ट्रेलरको मुख्य केन्द्रमा छ। अरुण क्षेत्रीले निर्वाह गरेको पात्र सरल, निष्कपट र सहयोगी स्वभावको देखिन्छ, जसले गौँथलीको शिक्षाको यात्रामा साथ दिन खोज्छ। तर परिवार र समाजको परम्परागत सोचका कारण उनका पुस्तक जलाइन्छन् र उनलाई शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित गरिन्छ।
ट्रेलरमा अरुण क्षेत्रीको फरक शैलीको अभिनयले दर्शकको विशेष ध्यान खिचेको छ भने सिम्रन खड्काले गौँथलीको पीडा, संघर्ष, आँट र विद्रोहलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्। उनीहरूको अभिनयलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सशक्त सामाजिक सन्देश बोकेको चलचित्रले पहाडी गाउँको यथार्थ जीवन, सामाजिक विभेद र शिक्षाको महत्वलाई प्रभावकारी रूपमा उठान गरेको देखिन्छ। ट्रेलरप्रति दर्शकले देखाएको उत्साहले चलचित्रले प्रदर्शनपछि पनि राम्रो साथ पाउने अपेक्षा निर्माण भएको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिनेछन्।
चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।


