क्यान्सरलाई जितेकी अभिनेत्री क्षितिजा शाक्य अब सचेतना अभियानमा


सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रमा अभिनयमार्फत आफ्नो पहिचान बनाएकी अभिनेत्री क्षितिजा शाक्य क्यान्सरलाई जितेपछि अहिले क्यान्सरविरुद्धको सचेतना अभियानमा सक्रिय हुने भएकी छन्। चलचित्र ‘घामछायाँ’, ‘नातेदार’ र ‘फोर्स’ लगायतका चलचित्रमा अभिनय गरेकी शाक्यले आफ्नो अनुभवलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम बनाउँदै क्यान्सर सचेतना अभियान अघि बढाउन लागेकी हुन्।

क्यान्सरसम्बन्धी सही जानकारी फैलाउने, समयमै परीक्षण गर्न प्रोत्साहित गर्ने र उपचाररत बिरामीलाई आशा तथा हौसला प्रदान गर्ने उद्देश्यले उनले सचेतनामूलक कार्यक्रम आयोजना गर्न लागेकी हुन्।

‘Know Cancer! No Cancer!! – PINK PROMISE: आशाको आवाज’ नाम दिइएको उक्त कार्यक्रम पिंक अक्टोबरको अवसरमा आयोजना हुन लागेको हो। ‘हेल्पिङ हार्ट विथ टिजा’ (Helping Heart with Tiza) को आयोजनामा तथा काठमाडौं महानगरपालिका वडा नं. २२ को सहयोगमा कार्यक्रम सञ्चालन हुनेछ। आगामी अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते शनिबार दिउँसो १२:३० बजे काठमाडौं महानगरपालिका – २२ मा कार्यक्रम आयोजना हुनेछ।

कार्यक्रममा क्यान्सरको उपचार गराइरहेका बिरामी, क्यान्सरलाई जितेका व्यक्तित्व, चिकित्सक तथा सर्वसाधारणको सहभागिता रहनेछ। कार्यक्रममा क्यान्सरका लक्षण, समयमै परीक्षण, उपचार प्रक्रिया तथा क्यान्सरसम्बन्धी विभिन्न भ्रमबारे जानकारी दिइनेछ। साथै, विशेषज्ञसँगको संवाद र सहभागीका जिज्ञासाको समाधानमार्फत क्यान्सरविरुद्धको लडाइँमा सचेतना, साहस र सकारात्मक सोचको महत्त्व उजागर गरिनेछ। कार्यक्रममा डाक्टरहरु हरिहर वस्ती,कपेंद्र शेखर अमात्य,बिजेश राज घिमिरे र राजेन्द्र प्रसाद बरालले क्यान्सर फाइटर, क्यान्सर सर्भाइवल र नर्मल व्यक्तिहरुलाई विभिन्न जानकारीहरु दिनेछन् ।

आफैंले क्यान्सरको सामना गरेर त्यसलाई जितेकी अभिनेत्री शाक्यको यो अभियानले क्यान्सरलाई जीवनको अन्त्यका रूपमा मात्र नहेरी सही जानकारी, समयमै पहिचान र उचित उपचारको महत्त्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘क्यान्सरलाई चिनौं, क्यान्सरलाई भगाऔं’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रमले क्यान्सरबारे खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नुका साथै उपचाररत व्यक्तिहरूलाई आत्मविश्वास र आशा प्रदान गर्ने लक्ष्य राखेको छ। सचेतना नै क्यान्सरविरुद्धको लडाइँको महत्त्वपूर्ण सुरुवात भएकाले आफू पनि सचेत बन्न र अरूलाई पनि सचेत गराउन आयोजकले सबैमा आग्रह गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.