
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको चासो बढाउने प्रयास गरेको छ ।
मल्टिस्टारर चलचित्रको ट्रेलरमा कथाका केही महत्त्वपूर्ण संकेतहरू देख्न सकिन्छ । यसअघि सार्वजनिक सामग्रीमार्फत पात्रहरूको परिचय गराएको निर्माण टिमले यसपटक भने कथाको आंशिक झलक प्रस्तुत गरेको छ ।
ट्रेलरमा आफू स्वर्गबाट आएको दाबी गर्ने युधिष्ठिर भीम, अर्जुन, नकुल र सहदेवको खोजीमा रहेको देखिन्छ । उनी किन आफ्ना चार साथीको खोजी गरिरहेका छन् र त्यसपछाडिको उद्देश्य के हो भन्ने प्रश्नले ट्रेलरलाई थप कौतूहलपूर्ण बनाएको छ । यही रहस्यले चलचित्रको कथावस्तुबारे दर्शकमा जिज्ञासा पैदा गर्ने देखिन्छ ।
बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र तिहारको अवसर पारेर आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ । काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली फिल्म क्षेत्रका अनुभवी कलाकारदेखि नयाँ पुस्ताका चर्चित अनुहारसम्मलाई एकसाथ देख्न सकिनेछ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला प्रमुख पाँच पाण्डवको भूमिकामा छन् । त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका छन् ।
श्याम तामाङको छायांकन रहेको चलचित्रलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ ।
‘पाँच पाण्डव’लाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्नेछन् भने चलचित्रको डिजिटल अधिकार ओएसडिजिटलले खरिद गरेको छ ।





