
काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले परियोजनालाई थप सशक्त बनाएको बोर्डले जनाएको छ।
१६ वर्षदेखि नेपाली चलचित्रको छायांकन क्षेत्रमा सक्रिय सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई हस्तान्तरण गरेका हुन्।
क्यामेरा ग्रहण गर्दै अध्यक्ष डिसीले भने, “चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण अब कागजमा मात्र होइन, वास्तविक उपकरण र दस्तावेजमार्फत प्रमाणित गर्ने समय आएको हो।”
उनका अनुसार संग्राहलयले नेपाली चलचित्रको ऐतिहासिक यात्रालाई व्यवस्थित रूपमा अभिलेख गर्न सहयोग पुर्याउनेछ।
चलचित्र संग्राहलयमा पुराना क्यामेरा, उत्पादन उपकरण, पोस्टर, पटकथा, संगीत सामग्री, पुरस्कार तथा सम्मान जस्ता चलचित्रसम्बन्धी सम्पदाहरू संरक्षित गरिनेछ। प्रदान गरिएको रेड एमएक्स क्यामेराबाट ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’ लगायतका लोकप्रिय चलचित्रहरू छायांकन भएका थिए।
क्यामेरा हस्तान्तरण गर्दै बुढाथोकीले भने, “नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो।”
दाङबाट काठमाडौं आएर चलचित्र उपकरण र पोष्ट–प्रोडक्सन सेवा प्रदान गर्दै आएका बुढाथोकीले सिनेफोकसलाई आधुनिक प्रविधिमा अब्बल कम्पनीका रूपमा स्थापित गरेका छन्। कार्यक्रममा चलचित्र पत्रकार संघका समिर बलामी, महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो।


