प्रदर्शनमा आयो ‘ह्रस्व दीर्घ’, बिहानी शोबाटै हाउसफूल सुरुवात


काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट सिनेमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको सिनेमाले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शोसहित प्रदर्शनमा आएको हो ।

नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको सिनेमा देशभरका सिनेमा घरमा एक सय ५० बढि शो पाएको छ । बिहानका धेरैजसो शो हाउसफुल हुने अवस्थामा छन् । नेपाली सिनेमाको ‘डोरसेल’ अझ राम्रो हुने भएकाले सिनेमाले बिहानी शोबाटै हाउसफुलको यात्रा सुरु गर्ने देखिन्छ । दर्शकको उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा भोली शनिबारको लागि शो अझै बढ्ने विश्वास निर्माण टिमलाई छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।