‘कबड्डी ५’ लाई प्रदर्शनको तीन दिनमै क्युएफएक्सले दियो सुपरहिटको ट्याग


सेलिब्रेटी नेपाल। रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’लाई देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ । क्युएफएक्सले प्रदर्शनको तेस्रो दिन अर्थात् आज आइतबारदेखि नै सिनेमालाई सुपरहिटको ट्याग दिएको हो ।

देशका प्रमुख ९ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा सिनेमा प्रदर्शन भइरहेको छ । ती सबै हलमा दुई दिनमै सिनेमाले डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएपछि तेस्रो दिन क्युएफएक्सले सिनेमालाई सुपरहिटको ट्याग दिएको हो ।

क्युएफएक्सले आज उपत्यका र उपत्यकाबाहिरका हलमा गरी सिनेमालाई ७० भन्दा बढी शो दिएको छ । देशैभर सिनेमाले ३ सय भन्दा बढी शो पाएको निर्माण टिमले जनाएको छ । सिनेमाका अधिकांश शो हाउसफूल भइरहेका छन् ।

गत शुक्रबार अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको सिनेमाले सुरुवाती देखिदेखि नै आक्रमक व्यापार गरिरहेको छ । दुई दिनमा सिनेमाले ३ करोड माथि व्यापार गरिसकेको निर्माण टिमले अनुमान गरेका छन् ।

सिनेमाले पनि दर्शक र समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसैबीच सिनेमाका कलाकार, निर्देशक तथा निर्माताहरू देशैभर छरिएर हल भिजिटमा दर्शक साक्षात्कार गरिरहेका छन् । दर्शकहरूले विशेषतः सिनेमाका मुख्य कलाकार र काजीको विवाह भएकोमा खुसी व्यक्त गरिरहेका छन् ।

सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले लगानी गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.