‘एक मुठ्ठी बादल’ लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फन्ड पुरस्कार


काठमाडौँ। निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड अन्तर्गत ६०,००० युरो (करिब ८७ लाख नेपाली रूपैयाँ) को पोस्ट-प्रोडक्सन अनुदान प्राप्त गर्ने घोषणा भएको छ। निर्देशक साहारा शर्मा यो प्रतिष्ठित अनुदान प्राप्त गर्ने पहिलो नेपाली महिला निर्देशक बनेकी छन्।

गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी) र क्रोमोजोम फिल्म (जर्मनी)को सह-निर्माणमा बनेको यस फिल्मले नेपाली महिला प्रधान कथा र अन्तर्राष्ट्रिय स्तरको सह-निर्माणको उदाहरण प्रस्तुत गर्दछ। नेपालबाट मन प्रडक्सन र अन्डरग्राउन्ड टकिज पनि यसको निर्माणमा संलग्न छन् भने प्रमुख निर्माताहरूमा अनुप पौडेल, सामीप्य राज तिमल्सेना र कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ रहेका छन्।

‘एक मुठ्ठी बादल’ नेपाली महिलाहरूको संघर्ष, सपनाहरू र स्वतन्त्रताको चाहनाको कथा हो। विवाहको पृष्ठभूमिमा आधारित यस चलचित्रले समाजले महिलाहरूमा थोपरेका अपेक्षाहरू, तिनीहरूको व्यक्तिगत स्वतन्त्रताका लागि गरिने अदृश्य संघर्ष, र पारिवारिक जीवनमा महिलाहरूले पुर्‍याउने योगदानलाई उजागर गरेको छ। चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।

पोस्ट-प्रोडक्सनका लागि ह्युबर्ट बाल्स फन्डको सहयोग प्राप्त भएपछि निर्देशक सहारा शर्माले खुसी व्यक्त गर्दै भनिन्, “नेपाली नारीहरूको जीवनका विविध पक्ष र क्षमता विश्वसामु चिनाउन यो पुरस्कारले ठूलो प्रेरणा दिएको छ।” निर्माता अभिमन्यु दीक्षित, जो गौथली इन्टरटेन्मेन्टका सञ्चालक र महिला-केंद्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुन्, यो चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने विश्वास व्यक्त गरेका छन्।

चलचित्रको सम्भावना बढाउँदै ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजार, र ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा समेत छनोट भएको छ। चलचित्रका सह-निर्माता सारा फाजिलात पनि एक अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी र महिला समानताप्रवर्दनमा क्रियाशील छन् ।

पोस्ट-प्रोडक्सनमा रहेको ‘एक मुठ्ठी बादल’ २०८२ सालमा प्रिमियर गराउने योजना छ। यो पुरस्कारले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म समुदायमा स्थापित गर्ने अवसर मात्र नभई, महिला-प्रधान कथाहरूको महत्त्वलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.