चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर


काठमाडौँ। अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण भन्दै सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६ गते प्रदर्शन हुनेछ।

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरू माझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।

‘एक्टर: टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँदै, निर्माण टिमले दर्शकहरूको माया र समर्थनको कदर गरेको छ।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी, द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।